प्रतिनिधि सभामा कांग्रेस सांसद सीता थपलियाको कविता, ‘देश बिर्सिएको दिन’ प्रस्तुत

जेष्ठ, २८, काठमाडौं । नेपाली कांग्रेस की सांसद सीता थपलिया (उर्मिला) ले प्रतिनिधि सभा बैठकमै कविता वाचन गर्दै सरकारप्रति गम्भीर राजनीतिक तथा नैतिक प्रश्न उठाएकी छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले हालै सार्वजनिक भएको प्रधानमन्त्रीसम्बन्धी अभिव्यक्ति र त्यसबारे परराष्ट्र मन्त्रालयले दिएको प्रष्टीकरणप्रति आफूहरूको समर्थन रहेको बताउँदै कविता प्रस्तुत गरेकी हुन्।

त्यसपछि उनले ‘देश बिर्सिएको दिन’ शीर्षकको कविता सुनाउँदै राज्य सञ्चालनमा जिम्मेवारी, नागरिकप्रतिको उत्तरदायित्व र राष्ट्रिय भावनाबारे सन्देश दिएकी थिइन्।

कवितामा उनले नेतृत्वलाई देश निर्माणको प्रतिबद्धता र व्यवहारबीचको दूरीप्रति प्रश्न गर्दै नागरिकको भरोसा नबिर्सन चेतावनी दिएकी छन्। उनले जनताको विश्वास, देशको माटो र अभिभावक पुस्ताप्रतिको जिम्मेवारी बिर्सन नहुने भाव व्यक्त गरिन्।

कविताको एक अंशमा उनले भनेकी छन्, “तिमीले देश बनाउँछु भन्यौ, म ढुक्क थिएँ तर एकाएक तिम्रो बोलीको प्रतिध्वनि पनि नमेटिँदै आफ्नै आमाको अस्मितामाथि औँला उठायौ।”

त्यस्तै उनले नेतृत्वलाई जनताको भरोसा र देशप्रतिको कर्तव्य नबिर्सन आग्रह गर्दै, अन्यथा राज्य र नागरिकबीचको सम्बन्ध कमजोर हुने चेतावनी दिएकी छन्।

सांसद थपलियाको कविताले बैठकमा केहीबेर भावनात्मक वातावरण सिर्जना गरेको थियो। उनले कविता मार्फत नेतृत्वलाई आत्मसमीक्षा गर्न र जनअपेक्षाअनुसार काम गर्नुपर्ने सन्देश दिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्