प्रमाणबिनै अन्तर्राष्ट्रिय ब्रान्डलाई बदनाम नगर्न रास्वपा सांसद आचार्यको आग्रह

जेष्ठ, २८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्य ले विद्युतीय सवारीसाधन (इभी) सम्बन्धी विवादमा पर्याप्त प्रमाणबिना अन्तर्राष्ट्रिय कम्पनीहरूलाई आरोपित नगर्न विपक्षी दलका सांसदहरूलाई आग्रह गरेका छन्।

बिहीबार सार्वजनिक लेखा समिति बैठकमा विद्युतीय सवारीसाधन आयात तथा भन्सार प्रक्रियासम्बन्धी विषयमा संसदीय छानबिन समिति गठनको माग उठेपछि आचार्यले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले BYD जस्ता अन्तर्राष्ट्रिय ब्रान्डमाथि प्रमाणबिना आरोप लगाउँदा कम्पनीको विश्वव्यापी प्रतिष्ठामा असर पर्न सक्ने र यसले भविष्यमा नेपालमा आउने वैदेशिक लगानीलाई समेत प्रभावित पार्न सक्ने बताए।

“केही कमजोरी भए त्यो स्थानीय आयातकर्ता वा प्रक्रियागत तहमा हुन सक्छ, तर सम्पूर्ण अन्तर्राष्ट्रिय ब्रान्डलाई बदनाम गर्नु उचित होइन,” उनले भने।

आचार्यले कर तथा भन्सार प्रणालीको पर्याप्त अध्ययन नगरी सामाजिक सञ्जालमा भाइरल हुने वा चर्चित शीर्षक बनाउने उद्देश्यले अर्थमन्त्रीमाथि हतारमा प्रश्न उठाउने प्रवृत्ति बढ्दै गएको टिप्पणी गरे।

उनका अनुसार तथ्य र प्रमाणको आधारमा प्रश्न उठाउनु लोकतान्त्रिक अभ्यास भए पनि आधारहीन आरोपलाई सामान्य बनाउँदा देशका सार्वजनिक संस्थाहरू र लगानी वातावरणको विश्वसनीयता कमजोर हुन सक्छ।

सांसद आचार्यले सांसद तथा अन्य सरोकारवालाहरूले कुनै विषयमा धारणा बनाउनु अघि त्यससँग सम्बन्धित प्रक्रिया, कानुनी व्यवस्था र तथ्यांकको गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) उपकरणहरूको प्रयोग उपयोगी भए पनि तिनैको भरमा सतही विश्लेषण गरेर प्रश्न उठाउँदा विषयको गाम्भीर्य र विश्वसनीयता कमजोर हुन सक्ने बताए।

विद्युतीय सवारीसाधनसम्बन्धी नीतिका विषयमा बोल्दै उनले भविष्यमा प्रयोगविहीन हुने इभी ब्याट्रीहरूको व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने उल्लेख गरे। त्यसैले उत्पादक कम्पनीले पुराना ब्याट्री फिर्ता लैजाने वा नेपालभित्रै सुरक्षित पुनःप्रयोग तथा व्यवस्थापनको स्पष्ट नीति बनाइनुपर्ने उनको सुझाव थियो।

त्यस्तै, विद्युतीय सवारीसाधनमा कर निर्धारण गर्दा केवल गाडीको मूल्यलाई मात्र आधार नबनाई अन्य प्राविधिक तथा वातावरणीय पक्षहरूलाई समेत ध्यान दिनुपर्ने धारणा उनले व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्