शून्य समयलाई ‘पूर्ण समय’ बनाउन रास्वपा सांसद आचार्यको माग
जेष्ठ, २८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिनकुमार आचार्य ले संसद्को शून्य समयमा उठाइने विषयहरू कार्यान्वयन प्रक्रियामा नजाने हो भने त्यसको औचित्यमाथि प्रश्न उठ्ने बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका विषयहरू सुनिने, अभिलेख गरिने र कार्यान्वयनका लागि अगाडि बढाइने हो भने त्यसलाई “शून्य समय” नभई “पूर्ण समय” भन्नुपर्ने धारणा राखे।
“यदि शून्य समयमा हामीले बोलेका कुरा सुनिन्छन्, टिपिन्छन् र कार्यान्वयनको प्रक्रियामा जान्छन् भने यसलाई शून्य समय होइन, पूर्ण समय भनौं,” उनले भने।
तर सांसदका प्रश्न, जनताका गुनासा र राष्ट्रिय मुद्दाहरू केवल अभिलेखमै सीमित भएर कार्यान्वयनमा नजाने हो भने त्यसलाई “ब्ल्याक होल समय” भन्न उपयुक्त हुने उनको टिप्पणी थियो।
ब्ल्याक होलमा प्रकाशसमेत हराएझैँ संसद्मा नागरिकको आवाज, जनप्रतिनिधिको जवाफदेहिता र सरकारको जिम्मेवारी हराउन नहुने उनले बताए।
सांसद आचार्यले शून्य समय केवल औपचारिक अभिव्यक्ति दिने मञ्च नभई जनताका पीडा र सरोकार संसद्सम्म पुग्ने संवैधानिक माध्यम भएको उल्लेख गरे।
उनले शून्य समयमा उठाइएका विषयहरू अभिलेखमा मात्र सीमित नराखी तत्काल सम्बन्धित मन्त्रालयमा पठाउने व्यवस्था गर्नुपर्ने माग गरे। साथै, ती विषयमा भएको प्रगति निश्चित समयभित्र संसद्लाई जानकारी गराउने संयन्त्र विकास गर्नुपर्नेमा पनि जोड दिए।
“सांसद बोल्ने, सरकार नसुन्ने; जनता कराउने, व्यवस्था नसुन्ने—यो परम्परा अब अन्त्य हुनुपर्छ,” उनले भने, “शून्य समयलाई जनताको आवाजको पूर्ण समय बनाउन आवश्यक छ।”
आचार्यले संसद्मा उठाइएका विषयको प्रभावकारी अनुगमन र कार्यान्वयन सुनिश्चित भए मात्र जनप्रतिनिधि संस्थाप्रति नागरिकको विश्वास अझ सुदृढ हुने धारणा व्यक्त गरे।





प्रतिक्रिया दिनुहोस्