विद्युतीय गाडीमा शून्य भन्सार लागू गर्न रास्वपा सांसद महर्जनको माग
जेष्ठ, २८, काठमाडौं । सत्तारूढ बुद्धरत्न महर्जन ले विद्युतीय सवारीसाधन (ईभी) मा शून्य भन्सार दर लागू गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार सार्वजनिक लेखा समिति को बैठकमा बोल्दै उनले नेपालमा पेट्रोलियम पदार्थको उत्पादन नहुने तर स्वदेशमै विद्युत उत्पादन हुने भएकाले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताए।
“स्वदेशी विद्युतको खपत बढाउन र जनतालाई सुविधा दिन विद्युतीय सवारीसाधनमा शून्य प्रतिशत कर लगाउनुपर्छ,” महर्जनले भने।
उनले उच्च करका कारण विदेशमा करिब ४ लाख रुपैयाँ पर्ने गाडी नेपालमा आइपुग्दा १८–२० लाख रुपैयाँसम्म महँगो हुने अवस्था रहेको उल्लेख गर्दै कर दर घटाएर विद्युतीय गाडी सर्वसाधारणको पहुँचमा पुर्याउनुपर्ने बताए।
“कर घटाएर यस्ता गाडीहरू ६–७ लाख रुपैयाँमै उपलब्ध गराउन सकियो भने सर्वसाधारणले सहज रूपमा यसको लाभ लिन सक्छन्,” उनले भने।
महर्जनले विद्युतीय सवारीसाधनको भन्सार जाँचपास प्रक्रिया पूर्ण रूपमा पारदर्शी हुनुपर्नेमा पनि जोड दिए। गाडीको मूल्य निर्धारण सरकारले गर्ने हो वा व्यवसायीले भन्ने विषय स्पष्ट हुनुपर्ने तथा कुन मूल्यका आधारमा कति भन्सार लाग्छ भन्ने सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो।
उनले भन्सार मूल्यांकन (भ्यालुएसन) र कर संरचनासम्बन्धी जानकारी सरकारी वेबसाइटमार्फत सार्वजनिक गर्न सुझाव दिए।
त्यस्तै, विभिन्न क्षेत्रमा लाग्दै आएका करहरूको पुनरावलोकन गर्दै करको दर न्यूनतम बनाउनुपर्ने आवश्यकता औंल्याए। “बाटो, जग्गा, घरदेखि गाडीसम्म जताततै कर तिर्नुपर्ने अवस्थाले जनता मारमा परेका छन्। जनता धनी भए मात्र देश धनी हुन्छ,” उनले बताए।
सांसद महर्जनले स्वदेशी ऊर्जा खपत बढाउने, वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्ने र नागरिकलाई सुलभ यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले विद्युतीय सवारीसाधनसम्बन्धी कर नीतिमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन्।





प्रतिक्रिया दिनुहोस्