छवि धमिल्याउने प्रयास भएको भन्दै अर्थमन्त्री वाग्लेको आपत्ति, अनियमितता प्रमाणित भए सार्वजनिक जीवन छाड्ने घोषणा
जेष्ठ, २८, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेटसँग सम्बन्धित केही मानवीय त्रुटिलाई अतिरञ्जित गरी आफ्नो दशकौंको मेहनतबाट बनेको सार्वजनिक छवि धमिल्याउने प्रयास भएको भन्दै गम्भीर खेद व्यक्त गरेका छन्।
बिहीबार सार्वजनिक लेखा समिति मा बोल्दै उनले प्लास्टिकको सुटकेसमा लाग्ने भन्सार दर ३० प्रतिशतबाट झरेर १५ प्रतिशत हुन गएको विषय मानवीय त्रुटिका कारण भएको र त्यसलाई तत्काल सच्याएर पुनः ३० प्रतिशत कायम गरिएको बताए।
“यही सानो त्रुटिलाई अतिरञ्जित गरेर दशकौंसम्म मेहनत गरेर बनाएको छविलाई धमिल्याउने दुष्प्रयास भएको छ,” उनले भने।
वाग्लेले बजेट प्रक्रियामा दुई अर्ब रुपैयाँ त परको कुरा, एक रुपैयाँ मात्र पनि अनियमितता भएको प्रमाणित भए सार्वजनिक जीवनबाट अलग हुन तयार रहेको बताए।
उनका अनुसार जेठ १७ गते कर्मचारीहरूले आफैं त्रुटि पत्ता लगाई मन्त्रालयलाई जानकारी गराएका थिए। स्वास्थ्यकर्मीहरूको सुझावअनुसार जीवनरक्षक भ्याक्सिन तथा रगत बोक्ने क्यारियरलाई छुट्टै एचएस कोड दिएर १५ प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको थियो। तर सो व्यवस्था मिलाउने क्रममा प्लास्टिक वा कपडाले बेरिएको सुटकेसको भन्सार दर अनवधानवश ३० प्रतिशतबाट १५ प्रतिशतमा झरेको र त्यसलाई तुरुन्तै सच्याइएको उनले स्पष्ट पारे।
अर्थमन्त्रीले विद्युतीय सवारीसाधनमा लाग्ने सडक निर्माण दस्तुरसम्बन्धी फुटनोट पनि टाइपिङका क्रममा छुटेको बताए। उनका अनुसार २० लाख रुपैयाँसम्मको सीआईएफ मूल्य भएका विद्युतीय गाडीमा ५ प्रतिशतको सट्टा २.५ प्रतिशत सडक निर्माण दस्तुर लाग्ने व्यवस्था उल्लेख गर्न छुटेकाले पछि संशोधन गरिएको हो।
कर्मचारीबाट भएको गल्तीको नैतिक जिम्मेवारी आफूले लिएको बताउँदै उनले जेठ १७ गते नै संघीय संसद सचिवालय का महासचिवलाई पत्राचार गरेर सच्याइएका विषयहरूको औपचारिक जानकारी गराइएको जानकारी दिए।
बजेटका पाना परिवर्तन गरिएको भन्ने आरोप अस्वीकार गर्दै उनले सांसदहरूको हातमा पुस्तिका पुगेपछि त्यसमा कुनै शब्द, थोप्लो वा पूर्णविरामसमेत परिवर्तन नगरिएको दाबी गरे। “यदि त्यस्तो प्रमाणित भयो भने म जवाफदेही बन्न तयार छु,” उनले भने।
वाग्लेले बजेट वक्तव्यमै उल्लेख गरिएको उपमहानगरपालिका तथा महानगरपालिकामा सिनेमा हलमा लगानी गर्ने लगानीकर्तालाई १० वर्षसम्म आयकर छुट दिने व्यवस्था सम्बन्धित विधेयकमा समावेश गर्न छुटेकाले पछि सच्याइएको पनि बताए।
विद्युतीय सवारीसाधनको भन्सार जाँचपासबारे उठेका प्रश्नको जवाफ दिँदै उनले सम्बन्धित गाडीहरू जेठ १३ र १४ गते नै नेपाल भित्रिएको र त्यसको अभिलेख भन्सार कार्यालयमा सुरक्षित रहेको बताए।





प्रतिक्रिया दिनुहोस्