लागुऔषध नियन्त्रणमा स्रोत अभाव, अपरेशन र सूचना संकलनका लागि मात्र ५–५ लाख बजेट: आइजिपी कार्की

जेष्ठ, २८, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की ले लागुऔषध नियन्त्रणका लागि सञ्चालन गरिने अपरेशन तथा सूचना संकलनमा अत्यन्तै न्यून बजेट विनियोजन भएको बताएका छन्।

बिहीबार राज्य व्यवस्था तथा सुशासन समिति को बैठकमा बोल्दै कार्कीले अपरेशन र सूचना संकलनका लागि वार्षिक ५–५ लाख रुपैयाँ मात्र छुट्याइएको उल्लेख गर्दै उक्त रकम प्रभावकारी नियन्त्रण अभियानका लागि अपर्याप्त रहेको बताए।

उनले लागुऔषध सेवन परीक्षण गर्ने उपकरण, एक्स–रे मेसिन तथा दक्ष प्राविधिक जनशक्तिको अभावका कारण अनुसन्धान कार्य प्रभावित भइरहेको जानकारी दिए। पक्राउ परेका घाइते वा बिरामी अभियुक्तको उपचार खर्चसमेत प्रहरीले नै व्यहोर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।

नेपालमा लागुऔषधको दुर्व्यसन र अवैध कारोबार थप जटिल बन्दै गइरहेको उल्लेख गर्दै कार्कीले सीमित स्रोत–साधनका बाबजुद लागुऔषध नियन्त्रण ब्युरो ले आफ्नो सक्रियता बढाएको बताए।

उनका अनुसार ब्युरोले आगामी तीन वर्ष (२०८३–२०८६) का लागि विशेष कार्ययोजना तयार गरेको छ। योजनाअन्तर्गत ‘इन्टिग्रेटेड नार्कोटिक इन्टेलिजेन्स म्यानेजमेन्ट सिस्टम’ लागू गर्ने लक्ष्य राखिएको छ, जसमार्फत गृह मन्त्रालय, अध्यागमन विभाग, भन्सार विभाग र नेपाल प्रहरी बीच सूचना तथा समन्वय प्रणाली सुदृढ गरिनेछ।

त्यसैगरी, ७७ वटै जिल्लामा वस्तुगत सर्वेक्षण गरी लागुऔषधका ‘पकेट क्षेत्र’ पहिचान गर्ने तथा ‘इन्टेलिजेन्स–लेड पोलिसिङ’ मार्फत नियन्त्रण अभियान सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए।

कार्कीले लागुऔषध सम्बन्धी अपराधलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग जोडेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको समेत बताए।

प्रतिक्रिया दिनुहोस्