प्रधानमन्त्रीको अभिव्यक्ति मन्त्रीले सच्याउने अभ्यास असामान्य : राप्रपा सांसद शाही
जेष्ठ, २७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले गरेको गम्भीर राजनीतिक तथा भूराजनीतिक त्रुटिलाई मन्त्रीले सच्याउने अभ्यास असामान्य भएको बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद शाहीले सामान्यतया कूटनीतिक वा राजनीतिक त्रुटि भए प्रधानमन्त्रीले नै अभिभावकत्व ग्रहण गरी स्पष्ट पार्ने र राष्ट्रिय धारणा एकीकृत गर्ने परम्परा रहने बताए।
उनका अनुसार मन्त्री, सांसद वा अन्य पदाधिकारीबाट भएको त्रुटि सच्याउने जिम्मेवारी प्रधानमन्त्रीको हुने भए पनि अहिले भने त्यसको उल्टो अवस्था देखिएको छ।
‘सामान्यतया जिम्मेवार र परिपक्व शासनमा ठीक उल्टो हुन्छ। मन्त्री, सांसद वा अन्य पदाधिकारीबाट कूटनीतिक त्रुटि भए प्रधानमन्त्रीले अभिभावकत्व ग्रहण गरेर सच्याउँछन्, तर आज हामीले त्यसको विपरीत अवस्था देखिरहेका छौं,’ उनले भने।
शाहीले प्रधानमन्त्रीले संसदको रोष्ट्रमबाट दिएको अभिव्यक्ति सामान्य वा चिया पसलमा बोलेको जस्तो नभएको भन्दै त्यसको गम्भीरता उच्च रहेको बताए।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरणलाई विश्व राजनीतिक अभ्यासमा दुर्लभ घटना भएको टिप्पणी गरे।
‘प्रधानमन्त्रीको गम्भीर राजनीतिक तथा भूराजनीतिक त्रुटिलाई मन्त्रीहरूले सच्याउने अवस्था विश्वमै पहिलोपटक देखिएको हो,’ शाहीले भने।





प्रतिक्रिया दिनुहोस्