प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय संकटको अवस्था सिर्जना गर्‍यो : एमाले नेता बादल

जेष्ठ, २७ काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिले राष्ट्रिय संकटको अवस्था सिर्जना गरेको बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा दलको तर्फबाट बोल्दै उनले प्रधानमन्त्रीले ‘नेपालले भारतको जग्गा मिचेको छ’ भन्ने अभिव्यक्ति दिनु गम्भीर विषय भएको भन्दै उक्त भनाइ संसदमै आएर सच्याउनुपर्ने माग गरे।

बादलले प्रधानमन्त्रीको अभिव्यक्ति ऐतिहासिक तथ्यसँग मेल नखाने दाबी गर्दै त्यसले राष्ट्रिय हितसँग सम्बन्धित संवेदनशील प्रश्न उठाएको बताए।

उनले प्रधानमन्त्रीको भनाइलाई पछिल्ला राजनीतिक गतिविधि र घटनाक्रमसँग जोडेर हेर्नुपर्ने धारणा पनि राखे। ‘प्रधानमन्त्रीले नेपालले भारतको जग्गा मिचेको छ भन्नुभएको छ। त्यो ऐतिहासिक तथ्यसँग मेल खाँदैन,’ उनले भने, ‘यस्ता विषयलाई समग्र सन्दर्भ र घटनाक्रमसँग जोडेर हेर्न आवश्यक छ।’

एमाले नेता बादलले प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा दिएको स्पष्टीकरण पनि चित्तबुझ्दो नभएको बताए।

उनका अनुसार परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन गर्नुको सट्टा त्यसको बचाउ गर्ने प्रयास गरेका छन्, जुन आफूहरूलाई स्वीकार्य नभएको उनले उल्लेख गरे।

‘परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्नुभयो, त्यो हामीलाई मान्य छैन,’ बादलले संसदमा भने।

प्रधानमन्त्रीको विवादित अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षीसहित विभिन्न दलहरूले संसदमा लगातार प्रश्न उठाउँदै आएका छन् भने प्रधानमन्त्री स्वयंले संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग पनि जारी राखेका छन्।

प्रतिक्रिया दिनुहोस्