प्रधानमन्त्रीलाई संसद नचाहिएला, प्रतिपक्षलाई संसद चाहिन्छ : भीष्मराज आङ्देम्बे

जेष्ठ, २७ काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद आवश्यक नलागे पनि प्रतिपक्षी दलहरूलाई संसद सञ्चालन आवश्यक रहेको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न विवादबारे टिप्पणी गर्दै संसदको समय जनताका मुद्दामा केन्द्रित हुनुपर्ने बताए।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा स्पष्टीकरण दिएपछि बोल्दै उनले प्रतिपक्षी दलहरूले संसद अवरोधको उद्देश्य पूरा भएको भन्दै अब सदन सञ्चालनमा जोड दिएको बताए।

‘बजेटमाथिको छलफल बाँकी छ, जनताका जीवन्त मुद्दामा बहस गर्नुछ। प्रधानमन्त्रीलाई संसद नचाहिएला, तर प्रतिपक्षलाई संसद चाहिएको छ,’ उनले भने।

आङ्देम्बेले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण र आपत्तिजनक भन्दै त्यसलाई जति व्याख्या गरे पनि मूल अभिव्यक्तिको अर्थ नबदलिने बताए।

‘नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक थियो। त्यसलाई जतिसुकै रफू वा विशेषण थपेर व्याख्या गरे पनि दुनियाँले सुनेको र उहाँले भनेको यही हो,’ उनले भने।

उनले प्रधानमन्त्री संसदमा उपस्थित नभएको विषयप्रति पनि असन्तुष्टि व्यक्त गर्दै अब व्यक्तिगत रूपमा प्रधानमन्त्रीको खोजी नगर्ने बताए।

‘मेरो मुलुकका समस्या र प्रश्नहरू प्रधानमन्त्रीको उपस्थितिभन्दा ठूलो र संवेदनशील छन्,’ उनले भने।

आङ्देम्बेले प्रधानमन्त्रीको अभिव्यक्तिपछि पनि सत्तारूढ दलका शीर्ष नेताहरू तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू मौन बसेको आरोप लगाए। उनले रास्वपाका सांसदहरूको मुखमा ‘सत्ताको टेप टाँसिएको’ जस्तो देखिएको टिप्पणी पनि गरे।

उनले संसदको अमूल्य समय एउटै अभिव्यक्तिमै अल्झाएर राख्नु उचित नभएकाले अब जनसरोकारका विषयमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया दिनुहोस्