संसदमा प्रश्न गर्ने क्षमताले आत्महत्या गरेको दृश्य देखियो : कांग्रेस नेता आङ्देम्बे

जेष्ठ, २७ काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदमा प्रश्न गर्ने क्षमताको क्षय भइरहेको भन्दै गम्भीर टिप्पणी गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिलाई लिएर सत्तापक्षका सांसदहरू मौन बसेकोप्रति संकेत गर्दै बुधबारको प्रतिनिधि सभा बैठकमा उनले यस्तो धारणा राखेका हुन्।

आङ्देम्बेले गोपाल योञ्जनको गीत स्मरण गर्दै संसदभित्रको बहस र प्रश्न गर्ने संस्कृतिमा गिरावट आएको टिप्पणी गरे।

उनले भने, ‘कांग्रेस लास र दासको पार्टी होइन। तर आजको मितिमा यो संसदमा प्रश्न गर्ने क्षमताले आत्महत्या गरिरहेको कारुणिक दृश्य मैले देखिरहेको छु।’

सत्तापक्षका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिमा प्रतिवाद नगरेकोप्रति आक्रोश व्यक्त गर्दै उनले सत्ता पक्षबाट कुनै एक जनाले पनि साहस नदेखाएको बताए।

आङ्देम्बेले प्रधानमन्त्रीलाई संसदले स्पष्टीकरणका लागि बोलाए पनि उनी उपस्थित नभएको भन्दै अब उनलाई खोज्नुपर्ने अवस्था नरहेको टिप्पणीसमेत गरे।

उनले थपे, ‘सत्ताको कित्ताबाट कोही एक जनाले हिम्मत गर्लान् कि भन्ने अपेक्षा थियो, तर उल्टै नेपालले भारतको सीमा मिचेको हो भन्ने कुरा पुष्टि गर्न न्वारानदेखिको बल लगाएर दौडिरहनुभएको छ।’

सांसद आङ्देम्बेले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई समर्थन गरेको जस्तो देखिएको भन्दै संसदमा देखिएको दृश्यलाई लज्जास्पद भनेका छन्।

प्रतिक्रिया दिनुहोस्