परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणबारे सदनलाई जानकारी

जेष्ठ, २७ काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन्।

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा मन्त्री खनालले तीन दिने औपचारिक भ्रमण गरेका थिए।

सदनलाई जानकारी दिँदै उनले गत फागुनमा सम्पन्न निर्वाचनपछि गठित नयाँ सरकारको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण भएको उल्लेख गर्दै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमणले महत्त्वपूर्ण योगदान पुर्‍याएको विश्वास व्यक्त गरे।

भ्रमणका क्रममा ६ जुन २०२६ मा नयाँ दिल्लीमा भारतका विदेशमन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता तथा प्रतिनिधिमण्डलस्तरीय छलफल भएको उनले बताए।

दुवै देशबीच व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, सुरक्षा, सीमा व्यवस्थापन, खेलकुद तथा जनस्तरीय सम्बन्ध विस्तारलगायत विषयमा विस्तृत छलफल भएको मन्त्री खनालले जानकारी दिए। उनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा पनि विचार आदान–प्रदान भएको बताए।

मन्त्री खनालका अनुसार नेपाल–भारत सहकार्यमा सञ्चालित परियोजनाहरूको प्रगति समीक्षा गर्दै तिनलाई थप प्रभावकारी बनाउने उपायबारे समेत छलफल भएको छ।

भ्रमणका क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेटघाट भएको उनले जानकारी दिए। उक्त भेटमा सीमा व्यवस्थापन, साझा सुरक्षा चासो तथा दुई देशबीचको रणनीतिक साझेदारीका विविध पक्षमा विचार आदान–प्रदान भएको बताइएको छ।

त्यस्तै, भ्रमणका क्रममा अन्तरदेशीय भुक्तानी प्रणाली सञ्चालन, भूकम्पपछिको पुनर्निर्माणमा भारतको सहयोगमा सम्पन्न परियोजनाहरूको हस्तान्तरण तथा डिजिटल सहकार्यसम्बन्धी विभिन्न समझदारीपत्र आदान–प्रदान भएको पनि उनले जानकारी दिए।

काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एण्ड आर्टिफिसियल इन्टेलिजेन्स सेन्टर र भारतको डिजिटल इन्डिया भाषिनी डिभिजनबीच भाषा अनुवाद प्लेटफर्म तथा डिजिटल पूर्वाधार सहकार्यसम्बन्धी समझदारी भएको समेत उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्