प्रधानमन्त्री स्वयंले संसदमा जवाफ दिनुपर्ने हर्क साम्पाङको अडान
जेष्ठ, २७ काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दल नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले प्रतिनिधि सभामा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे जवाफ दिनुपर्ने माग गरेका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले लोकतन्त्रको मूल मर्म नै प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउनु भएको उल्लेख गर्दै कुनै एक व्यक्तिको गल्ती अरूले सच्याउन नसक्ने धारणा राखे।
प्रधानमन्त्री शाहले केही दिनअघि ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न विवादबारे परराष्ट्र मन्त्रीले संसदमा स्पष्ट पार्ने तयारी भइरहेको सन्दर्भमा साम्पाङले त्यसप्रति असहमति जनाएका हुन्।
उनले भने, ‘जुन खालको अभिव्यक्ति प्रधानमन्त्रीज्यूले दिनुभएको छ, त्यसलाई सच्याउन परराष्ट्रमन्त्रीको जवाफ आउँछ भन्ने सुनिएको छ। तर हामी त्यसमा सहमत छैनौं। प्रधानमन्त्रीले नै आएर जवाफ दिनुपर्छ। उहाँले गरेको गल्ती अरूले सच्याउने कुरा न्यायसम्मत र संविधानसम्मत छैन।’
साम्पाङले प्रधानमन्त्री अनुपस्थित भएमा लिखित वक्तव्य मात्रै भए पनि सम्बन्धित व्यक्ति स्वयंको हस्ताक्षर र जिम्मेवारीसहित संसदमा आउनुपर्ने धारणा राखे।
उनले थपे, ‘प्रधानमन्त्री आउन नसक्ने हो भने लिखित वक्तव्य भए पनि उहाँकै तर्फबाट आउनुपर्छ। परराष्ट्र मन्त्रीले वाचन गर्ने मात्र होइन, मूल जिम्मेवारी प्रधानमन्त्रीकै हो।’
साम्पाङले हालको संसदीय अभ्यासले कार्यकारी प्रमुखलाई जवाफदेही बनाउने सिद्धान्त कमजोर बनाएको भन्दै लोकतान्त्रिक मूल्यअनुसार प्रधानमन्त्री स्वयं संसदप्रति उत्तरदायी हुनुपर्ने बताए।





प्रतिक्रिया दिनुहोस्