रास्वपाको प्रस्तावित विधानमा परिवारवाद र नातावादमा पूर्ण निषेध

जेष्ठ, २७ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रस्तावित विधानमा पार्टीभित्र परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था गरेको छ।

सहमहामन्त्री विपिनकुमार आचार्य नेतृत्वको कार्यदलले तयार पारी केन्द्रीय सदस्यहरूलाई वितरण गरिएको प्रस्तावित विधानमा एकै परिवारका एकभन्दा बढी सदस्यलाई समान तहका समिति, विभाग, आयोग वा अन्य संयन्त्रमा नियुक्ति, मनोनीत वा निर्वाचित हुन नपाउने स्पष्ट व्यवस्था गरिएको छ।

त्यस्तै, पार्टीका केन्द्रीय तथा प्रदेश निकायका पदाधिकारी वा सदस्यका परिवारका सदस्यलाई पार्टीको कुनै पनि निकाय तथा पार्टीको तर्फबाट राज्यका निकायहरूमा नियुक्ति वा मनोनयनका लागि सिफारिस नगर्ने प्रावधान पनि प्रस्ताव गरिएको छ।

प्रस्तावित विधानमा ‘परिवार’ को परिभाषा समेत विस्तृत रूपमा गरिएको छ। जसअनुसार पति–पत्नी, आमा–बुबा, सौतेनी आमा–बुबा, छोरा–छोरी, दाजु–भाइ, दिदी–बहिनी, नाति–नातिनी, बाजे–बज्यै, ठूलो बुवा–ठूली आमा, काका–काकी, फुपू, मामा, जेठान–जेठानी, जेठी सासू, देवर–नन्द, साला–साली तथा उनीहरूका पति वा पत्नीलाई समेत परिवारको परिभाषामा समेटिएको छ।

विधानमा पार्टी सञ्चालनका आधारभूत मूल्य, लोकतान्त्रिक अभ्यास र सुशासनका सिद्धान्तलाई प्रमुख आधार बनाइने उल्लेख छ। साथै पार्टीका सबै संरचना, कार्यविधि र नीतिहरू यिनै सिद्धान्तअनुसार निर्देशित हुने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्