संसद खुलाउने प्रयासमा रास्वपाको नयाँ प्रस्ताव, विपक्षी दलहरू आंशिक सहमत

जेष्ठ, २७ काठमाडौं । अवरूद्ध प्रतिनिधि सभा बैठक खुलाउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ प्रस्ताव अघि सारेको छ।

प्रधानमन्त्री बालेन शाहले सीमासम्बन्धी दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै विपक्षी दलहरूले संसद अवरुद्ध गर्दै आएका छन्। यसबीच संसदको गतिरोध अन्त्य गर्न रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीको सट्टा परराष्ट्र मन्त्रीमार्फत जवाफ दिने विकल्प अघि सारेका हुन्।

लामिछानेले प्रधानमन्त्रीको तर्फबाट स्पष्ट रूपमा उल्लेख गरेर परराष्ट्र मन्त्री शिशिर खनालले संसदमा जवाफ दिने प्रस्ताव राखेको स्रोतले जनाएको छ।

उक्त प्रस्तावपछि विपक्षी दलहरू प्रधानमन्त्रीको सट्टा परराष्ट्र मन्त्रीले जवाफ दिने विषयमा आंशिक रूपमा सहमत भएको बताइएको छ। तर उनीहरूले प्रधानमन्त्रीको हस्ताक्षरसहितको लिखित जवाफ संसदमा प्रस्तुत हुनुपर्ने सर्त अघि सारेका छन्।

एक रास्वपा सांसदका अनुसार विपक्षी दलहरूले प्रधानमन्त्री उपस्थित हुन नसक्ने भए त्यसको कारण स्पष्ट पार्दै प्रधानमन्त्रीको हस्ताक्षर भएको लिखित जवाफ जुनसुकै मन्त्रीले संसदमा पढ्न सक्ने व्यवस्था स्वीकार्य हुने धारणा राखेका छन्।

यद्यपि, लिखित जवाफको स्वरूप र हस्ताक्षरको विषयमा भने सहमति जुट्न बाँकी रहेको जनाइएको छ।

सहमति नजिक पुगेपछि आज बिहान ११ बजेका लागि बोलाइएको बैठक २ बजेका लागि सारिएको छ।

प्रतिक्रिया दिनुहोस्