कांग्रेस जनप्रतिनिधिलाई क्रियाशील सदस्यता अद्यावधिक गर्न आज अन्तिम समय

जेष्ठ, २७ काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गर्न आज मध्यरातसम्मको समय सीमा तोकिएको छ।

समयभित्र अद्यावधिक नगरे आगामी असोजमा हुने पार्टीको १५ औं महाधिवेशनमा सहभागी हुन नपाइने व्यवस्था गरिएको छ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलले जारी गरेको सूचनाअनुसार संघीय संसदका सदस्य, प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरूलाई जेठ २७ गतेभित्र अनिवार्य रूपमा क्रियाशील सदस्यता अद्यावधिक गर्न निर्देशन दिइएको हो।

त्यसैगरी पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरू, जिल्ला, प्रदेश सभा क्षेत्र, पालिका र वडा तहका समितिका पदाधिकारी तथा सदस्यहरूलाई पनि तोकिएको समयभित्र अद्यावधिक प्रक्रिया पूरा गर्न भनिएको छ।

भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरूलाई समेत आज मध्यरातभित्र अद्यावधिक गर्न पार्टीले आग्रह गरेको छ।

कांग्रेसले जेठ १ गतेदेखि क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सुरु गरेको हो। उक्त प्रक्रिया क्रियाशील सदस्यहरूका लागि भने भोलि मध्यरातसम्म पनि खुला रहने पार्टीले जनाएको छ।

पार्टीले यसअघि नै गत पुससम्म नवीकरण वा नयाँ क्रियाशील सदस्यता लिएका सदस्यहरूबाट थप विवरण संकलन गर्दै अद्यावधिक कार्य अघि बढाएको हो।

प्रतिक्रिया दिनुहोस्