प्रतिनिधि सभा बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित

जेष्ठ, २७ काठमाडौं । प्रतिनिधि सभाको बैठक सूचना टाँसेर बुधबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ।

प्रतिपक्षी दलहरूको अवरोध र अडानबीच बिहान ११ बजे बस्ने तय भएको बैठक पनि सुरु हुनुअघि नै स्थगित गरिएको हो। सभामुख डोलप्रसाद अर्यालले सूचना जारी गर्दै बैठक स्थगित गरिएको जानकारी दिएका हुन्।

यसअघि पनि सीमासम्बन्धी प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूको विरोध जारी रहेपछि बैठक अवरुद्ध हुँदै आएको थियो।

प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि त्यसबारे आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले स्पष्टीकरण माग गरेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपा लगायतका प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको प्रमाण प्रस्तुत गर्नुपर्ने वा उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने अडान राख्दै आएका छन्।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने परराष्ट्र मन्त्रालयले यस विषयमा स्पष्टिकरण दिइसकेको र आवश्यक परे परराष्ट्र मन्त्रीले जवाफ दिन सक्ने बताएको छ। तर प्रतिपक्षी दलहरूले भने प्रधानमन्त्री स्वयंले नै आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग दोहोर्‍याइरहेका छन्।

यस विषयमा सहमति नजुटेपछि संसद बैठक पटक–पटक प्रभावित हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्