कांग्रेस नेता शाहीको पहलमा युवा भेला, पाँच एजेन्डामा छलफल हुने

जेष्ठ २७ काठमाडौं । नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीसहितका नेताहरूले युवा पुस्तालाई केन्द्रमा राखेर काठमाडौंमा युवा भेला आयोजना गर्ने भएका छन्।

आयोजकका अनुसार भेला जेठ ३० गते दिउँसो २ बजे काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा आयोजना गरिनेछ।

नेता शाहीले भेलामा पार्टीको संगठनात्मक संरचना, महाधिवेशन र नेतृत्व हस्तान्तरणसँग सम्बन्धित पाँच प्रमुख एजेन्डामा छलफल गरिने जानकारी दिए।

उनका अनुसार विशेष महाधिवेशनबाट गठन गरिएको समितिलाई खारेज गर्ने, भ्रातृ संस्थाहरूमा गरिएको टीके नियुक्ति रद्द गरी निर्वाचन समितिमार्फत अधिवेशन सम्पन्न गर्ने, क्रियाशील सदस्यता अद्यावधिकका नाममा हुने धाँधली अन्त्य गर्ने तथा यसअघि नवीकरण भइसकेका सदस्यतालाई मान्यता दिने, आगामी भदौभित्र महाधिवेशन सम्पन्न गर्ने र पार्टीको नेतृत्व तथा जिम्मेवारी युवा पुस्तालाई हस्तान्तरण गर्ने प्रस्तावित एजेन्डा रहेका छन्।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको विवादका बीच आयोजना हुन लागेको यो भेलालाई चासोका साथ हेरिएको छ।

विशेष महाधिवेशनविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर अदालतले उक्त रिट खारेज गरिदिएको थियो।

उक्त विशेष महाधिवेशनमा देउवा र शेखर कोइराला पक्ष सहभागी भएका थिएनन्।

प्रतिक्रिया दिनुहोस्