विगतका कमजोरी देखाएर वर्तमान त्रुटि छोप्न मिल्दैन : एमाले सांसद कँडेल

जेष्ठ २७ काठमाडौं । नेकपा एमालेका सांसद पुष्पराज कँडेलले विगतका सरकारका कमजोरी देखाएर वर्तमान सरकारले गरेका त्रुटिको बचाउ गर्न नमिल्ने बताएका छन्। प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बारम्बार अघिल्ला सरकार र अर्थमन्त्रीहरूलाई दोषारोपण गर्ने प्रवृत्तिप्रति आपत्ति जनाएका हुन्।

कँडेलले सुशासन, पारदर्शिता र सुधारको एजेन्डा लिएर आएको सरकारले विगतका कमजोरी दोहोर्‍याउन नहुने बताए। उनका अनुसार अघिल्ला सरकारले गल्ती गरेका भए त्यसको समीक्षा हुनुपर्छ, तर त्यसलाई आधार बनाएर वर्तमान सरकारले पनि त्यही प्रकृतिका त्रुटि दोहोर्‍याउने छुट पाउँदैन।

अर्थमन्त्री स्वयं विगतमा राष्ट्रिय योजना आयोगलगायत राज्यका महत्वपूर्ण नीतिगत निकायमा जिम्मेवारी सम्हालिसकेको व्यक्ति भएकाले अघिल्ला निर्णय र प्रक्रियाबाट आफूलाई पूर्ण रूपमा अलग देखाउन खोज्नु उपयुक्त नहुने कँडेलको भनाइ थियो।

बैठकमा उनले अर्थमन्त्रीले अघिल्ला अर्थमन्त्रीहरूले करका दर तथा व्यवस्थामा हस्तक्षेप गरेको र भ्रष्टाचार भएको विषय निरन्तर उठाइरहे पनि त्यसले वर्तमान त्रुटिको औचित्य पुष्टि नगर्ने बताए। उनले अर्थमन्त्रीको नियतमाथि प्रश्न नरहे पनि विगतका सबै समस्या भ्रष्टाचारकै कारण भएको निष्कर्ष सही नहुने उल्लेख गरे।

कँडेलले मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीबारे पनि सरकारसँग स्पष्टीकरण माग गरे। नेपालको कर प्रशासनले विगतदेखि बहु–दर भ्याट प्रणालीलाई स्वीकार नगरेको स्मरण गराउँदै उनले अहिले त्यसतर्फ जाने विषयमा पर्याप्त अध्ययन, बहस र तयारी भएको हो वा होइन भन्ने प्रश्न उठाए।

उनका अनुसार १३ प्रतिशतको एकल भ्याट दरका विकल्पका रूपमा केही वस्तु तथा सेवामा न्यून दर तथा विलासिताका वस्तुमा फरक दर निर्धारण गर्ने विषयमा विगतदेखि बहस हुँदै आएको भए पनि नीतिगत परिवर्तनका लागि स्पष्ट आधार र औचित्य आवश्यक हुन्छ।

कँडेलले कर नीतिमा स्थायित्व, पूर्वानुमानयोग्यता र स्पष्टता कायम गर्न सरकार गम्भीर हुनुपर्ने बताउँदै कुनै पनि कर सुधार व्यापक अध्ययन तथा सरोकारवालासँगको परामर्शपछि मात्र कार्यान्वयन गर्नुपर्ने धारणा राखे।

यसअघि सोही बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा देखिएको त्रुटि प्राविधिक प्रकृतिको रहेको र त्यसलाई सच्याइएको भन्दै विपक्षी दलहरूले अनावश्यक रूपमा ठूलो मुद्दा बनाएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्