रास्वपाको बागमती प्रदेश अधिवेशन स्थगित, मतदान प्रक्रिया रोकियो
जेष्ठ २७ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन अन्तर्गत मतदानतर्फ अघि बढिसकेको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले आइतबार जारी विज्ञप्तिमार्फत चार प्रमुख कारण देखाउँदै प्रक्रिया रोक्नुपरेको जनाएको हो। आयोगका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन, मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न, समायोजन सूचीमा रहेका करिब ४०० प्रतिनिधिसम्बन्धी उजुरी तथा विवाद समाधान गर्न, र प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गरी निर्वाचनलाई व्यवस्थित बनाउन प्रक्रिया स्थगित गरिएको हो।
केन्द्रीय निर्वाचन प्रमुख भुवन केसी ले प्राविधिक तथा व्यवस्थापकीय विषयहरू सम्बोधन गर्नका लागि निर्वाचन प्रक्रिया अस्थायी रूपमा रोकिएको जानकारी दिएका छन्।
आयोगले भ्रमवश फर्किएका प्रतिनिधिसहित सबै प्रतिनिधिलाई मतदानमा सहभागी हुन पर्याप्त र सुविधाजनक समय उपलब्ध गराउने उद्देश्य पनि रहेको जनाएको छ। आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम सम्पन्न भएपछि अधिवेशन पुनः सञ्चालन गरिने र नयाँ मतदान मिति तथा थप विवरण मतदान सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अगावै आधिकारिक सूचनामार्फत सार्वजनिक गरिने आयोगले स्पष्ट पारेको छ।
साथै, आयोगले कुनै पनि भ्रामक हल्ला वा अपुष्ट सूचनाको पछि नलागी आधिकारिक जानकारीको प्रतीक्षा गर्न सम्पूर्ण प्रतिनिधि, उम्मेदवार तथा पार्टी सदस्यलाई आग्रह गरेको छ।
बागमती प्रदेश सभापति पदका लागि निवर्तमान सभापति अचुतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्य प्रतिस्पर्धामा छन्।





प्रतिक्रिया दिनुहोस्