एमाले त्यागेर अन्य दलमा गएका ८ वडाध्यक्षको पद रिक्त
जेष्ठ २७ काठमाडौं । निर्वाचन आयोगले सूचना जारी गर्दै २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)बाट निर्वाचित भई पछि अन्य राजनीतिक दलमा प्रवेश गरेका ८ जना वडाध्यक्षको पद रिक्त भएको जनाएको छ।
पद रिक्त हुने वडाध्यक्षहरूमा कमलबहादुर बानिया (मोलुङ गाउँपालिका–१), कमल तामाङ (मोलुङ–६), सुरेशकुमार थापा (चम्पादेवी गाउँपालिका–७), राजकुमार पन्थी (माथागढी गाउँपालिका–१), होमप्रसाद बजगाईं (बागमती गाउँपालिका–७), रामकुमार श्रेष्ठ (लेटाङ–४), महेशकुमार खनाल (रंगेली–१) तथा मधुसुदन शर्मा (घोराही–४) रहेका छन्।
आयोगका अनुसार राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निर्वाचित जनप्रतिनिधिले आफू निर्वाचित भएको दल त्यागेमा पद स्वतः रिक्त हुने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार उनीहरूको पद रिक्त भएको जनाइएको छ।
यसअघि एमाले सचिवालय बैठकले सम्बन्धित वडाध्यक्षहरूले दल त्याग गरी अन्य राजनीतिक दलमा आबद्ध भएको उल्लेख गर्दै उनीहरूको पद रिक्त गर्न आयोगसमक्ष पत्राचार गरेको थियो। आयोगले सोही आधारमा पद रिक्त भएको औपचारिक सूचना प्रकाशित गरेको हो।





प्रतिक्रिया दिनुहोस्