उपराष्ट्रपति यादव र इजिप्टका राजदूतबीच द्विपक्षीय सम्बन्धबारे छलफल

जेष्ठ २६ काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजिप्टका राजदूत शेरिफ मुस्ताफा अलसैयद अल्दिवानीले शिष्टाचार भेटवार्ता गरेका छन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा नेपाल र इजिप्टबीचको दीर्घकालीन मित्रता, आपसी सद्भाव तथा द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।

भेटका क्रममा उपराष्ट्रपति यादवले सन् १९५७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीच कायम रहेको मित्रवत् सम्बन्धप्रति सन्तोष व्यक्त गरे। उनले कायरो र काठमाडौंमा स्थापित दूतावासहरूले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

उपराष्ट्रपतिले कायरोमा आयोजना हुन लागेको नेपाल–इजिप्ट द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठकप्रति खुशी व्यक्त गर्दै त्यसबाट नयाँ सहकार्यका अवसर सिर्जना हुने विश्वास व्यक्त गरे।

उनले नेपाल र इजिप्ट असंलग्न आन्दोलनका संस्थापक सदस्य राष्ट्र भएको स्मरण गर्दै संयुक्त राष्ट्रसंघ, जी–७७ तथा विश्व व्यापार संगठनलगायत अन्तर्राष्ट्रिय मञ्चमा साझा हितका विषयमा सहकार्य हुँदै आएको बताए।

भेटमा इजिप्टका राजदूत अल्दिवानीले नेपालसँगको सम्बन्ध थप सुदृढ बनाउन आफ्नो देश प्रतिबद्ध रहेको उल्लेख गरे। उनले विशेषगरी कृषि, सैनिक तालिम तथा मानव संसाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न इजिप्ट इच्छुक रहेको बताए।

राजदूत अल्दिवानीले नेपाललाई रासायनिक मल उपलब्ध गराउने तथा कृषि क्षेत्रमा प्राविधिक सहयोग बढाउने विषयमा पनि चासो व्यक्त गरेका छन्। साथै नेपाली विद्यार्थीका लागि छात्रवृत्तिको संख्या वृद्धि गर्न पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्