सीमा विवादसम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्रीमाथि कांग्रेस सचेतक राईको कडा आरोप

जेष्ठ , २६ काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाह र उनका समर्थकमाथि गम्भीर आरोप लगाउँदै कडा आपत्ति जनाएका छन्।

नेपाली कांग्रेस का सचेतक राईले प्रधानमन्त्री शाहले नेपालले भारतको भूभाग मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको दाबी गर्दै त्यसले देशलाई “सीमा अतिक्रमणकारी राष्ट्र” का रूपमा प्रस्तुत गर्न खोजिएको आरोप लगाए।

मंगलबारको बैठकमा बोल्दै उनले इलामको मेची किनार क्षेत्रको भौगोलिक अवस्थाको उल्लेख गर्दै नेपालले भारतको कुनै पनि भूभाग नमिचेको स्पष्ट पारे।

उनले सामाजिक सञ्जालमार्फत गलत प्रमाण देखाएर नेपाललाई विवादित बनाउने प्रयास भइरहेको भन्दै आपत्ति जनाए।

राईले प्रधानमन्त्री र उनका समर्थकहरूको व्यवहारलाई राष्ट्रिय अस्मितामाथिको प्रहारको रूपमा व्याख्या गर्दै तत्काल स्पष्टीकरण आवश्यक रहेको बताए।

उनले सीमा विवादसम्बन्धी अभिव्यक्तिबारे प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भई स्पष्टिकरण दिनुपर्ने र माफी माग्नुपर्ने माग दोहोर्‍याए।

सांसद राईले सभामुखले यस विषयमा आवश्यक रुलिङ नगरेको भन्दै असन्तुष्टि जनाउँदै संसद्को अभिभावकको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए।

उनले नेपाल एकीकरणदेखि सीमा संरक्षणसम्मका ऐतिहासिक योगदानको स्मरण गर्दै वर्तमान नेतृत्वको अभिव्यक्तिले सहिदहरूको योगदानमाथि अपमान भएको टिप्पणी समेत गरे।

प्रतिक्रिया दिनुहोस्