पार्टी छोड्नेहरूलाई फकाउन नलाग्न गगन थापाको आग्रह

जेष्ठ , २६ काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी छोडेर जान चाहनेहरूलाई फकाउन नलाग्न पार्टीका कार्यकर्तालाई आग्रह गरेका छन्।

आज गोरखाको तीनधारेस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै थापाले पार्टी कमजोर भएको महसुस गर्दै अवसर खोजेर अन्यत्र जान चाहनेहरूलाई रोक्न धेरै प्रयास नगर्नुपर्ने बताएका हुन्।

उनले भने, “अहिले पार्टी अलिकति कमजोर छ भनेर कोही यता–उता मौका खोजेर दौडन्छ भने दौडन दिनुपर्छ। धेरै फकाउनेतिर पनि नलाग्नुस्।”

थापाले पार्टीभित्रबाट वडाध्यक्ष वा पालिका अध्यक्ष जस्ता पद पाइन्छ भन्ने सोचका साथ पार्टी छोड्ने प्रवृत्तिलाई सामान्य रूपमा लिनुपर्ने धारणा राखे।

उनका अनुसार पार्टीलाई बलियो बनाउन व्यक्तिभन्दा पनि संगठन सुधारमा ध्यान दिन आवश्यक छ। उनले पार्टीभित्र ‘फोहोर सफा’ गर्नुपर्ने आवश्यकता रहेको पनि बताए।

थापाले पार्टीको मूल प्राथमिकता सत्ता होइन, जनतासँग सम्बन्ध मजबुत बनाउनु हुनुपर्ने उल्लेख गर्दै कांग्रेसले नागरिकसँगको दूरी घटाउनुपर्नेमा जोड दिए।

उनले पार्टीलाई जनतासँग जोड्ने काम नै अबको मुख्य मन्त्र हुनुपर्ने धारणा पनि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्