एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक च्यासलमा, ओलीको उपस्थितिमा संगठन सुदृढीकरणमा जोड

जेष्ठ , २६ काठमाडौं ।नेकपा एमालेको पुनर्गठन कार्यदलको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी भएका छन्।

गत जेठ १० गते बसेको सचिवालय बैठकले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा सुदृढ बनाउन शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पुनर्गठन कार्ययोजना तयार गर्न कार्यदल गठन गरेको थियो।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गठन गरिएको १५ सदस्यीय कार्यदलले एक महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समयसीमा पाएको छ।

पार्टी सचिव महेश बस्नेतका अनुसार बैठकमा कार्यदलले कार्यविधि तय गर्दै प्रदेशस्तरदेखि आवश्यक परे जिल्ला तहसम्म पुगेर सुझाव संकलन गर्ने प्रारम्भिक योजना अघि बढाएको छ।

बैठकमा अध्यक्ष ओलीले संगठन सुदृढीकरण, हालको राजनीतिक अवस्था तथा निर्वाचन समीक्षा लगायतका विषयमा धारणा राख्दै कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ सक्रिय हुन आग्रह गरेका थिए।

कार्यदलले पार्टी संरचना पुनर्गठन र भावी कार्यदिशा तय गर्ने गरी प्रतिवेदन तयार गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्