रास्वपा पर्साको नेतृत्वमा बुद्धिप्रसाद पन्त पुनः निर्वाचित
जेष्ठ , २६ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्ला सभापतिमा बुद्धिप्रसाद पन्त (हरि) पुनः निर्वाचित भएका छन्। प्रथम जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा उनले प्रतिद्वन्द्वी सुशील कुमार कानुलाई पराजित गर्दै नेतृत्वमा निरन्तरता पाएका हुन्।
निर्वाचन समितिका संयोजक नन्दन यादवका अनुसार पन्तले १६६ मत प्राप्त गर्दा कानुले ११८ मत प्राप्त गरे। पन्त ४८ मतान्तरले विजयी भएका हुन्।
सभापतिका दुवै उम्मेदवार प्रतिनिधि सभा सदस्यसमेत हुन्। २०८२ फागुनमा सम्पन्न निर्वाचनमा पन्त पर्सा क्षेत्र नम्बर १ बाट तथा कानु क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
सोमबार रातिसम्म चलेको मतदानको परिणामअनुसार पन्त नेतृत्वको प्यानलले जिल्ला कार्यसमितिमा स्पष्ट बहुमत हासिल गरेको छ। उपसभापतिमा दिलीपकुमार कुर्मी १६२ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी रन्दीप श्रीवास्तवले ११४ मत प्राप्त गरे।
यस्तै, सचिवमा सुदिशकुमार प्रजापति १६० मतसहित निर्वाचित हुँदा शिवकुमार साहले ११६ मत पाए। सहसचिवमा कृष्णा पासवान १४९ मतसहित विजयी भइन् भने निरजकुमार साह ११३ मतमा सीमित भए।
सदस्य पदतर्फ तुलसा पौडेल अधिकारीले सर्वाधिक १६० मत प्राप्त गरिन्। सदस्यहरूमा प्रियंका कुमारी कुर्मी, पूर्णबहादुर सापकोटा, कामोध्या चौधरी र शशीदेवी थरुनी निर्वाचित भएका छन्।
निर्वाचन परिणामले रास्वपा पर्सा जिल्ला कार्यसमितिमा संस्थापन पक्षको प्रभाव कायम रहेको देखाएको छ। पर्साका चार प्रतिनिधि सभा सदस्यमध्ये तीन जनाको समर्थन विपक्षी समूहलाई रहे पनि पन्तले पुराना नेता–कार्यकर्ता र संगठनको आधारमा नेतृत्व जोगाउन सफल भएका हुन्।
सभापतिका प्रत्याशी सुशील कुमार कानुलाई पर्सा क्षेत्र नम्बर ३ का सांसद रामाकान्त चौरसिया, क्षेत्र नम्बर ४ का सांसद टेकबहादुर शाक्य तथा नेता सुधिर पटेलको समर्थन रहेको थियो।
यसैबीच, निर्वाचनको पूर्वसन्ध्यामा दुई पक्षबीच विवाद र झडपसमेत भएको थियो। त्यसका बाबजुद अधिवेशनले नयाँ जिल्ला नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।




प्रतिक्रिया दिनुहोस्