झलकराम अधिकारीविरुद्धको भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दाको सुनुवाइ स्थगित

जेष्ठ , २६ काठमाडौं । राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध विशेष अदालतमा दायर गरिएको भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिए पनि सरकारी वकिल कार्यालयको अनुरोधमा सुनुवाइ स्थगित गरिएको अदालत स्रोतले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीविरुद्ध २०८२ चैत १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको तथा उक्त रकम अवैध रूपमा आर्जन गरी जग्गा खरिद र ऋण तिर्न प्रयोग गरेको आरोप लगाएको छ।

आयोगको अभियोगपत्रअनुसार एच.के. इन्टरप्राइजेज नामक कम्पनीविरुद्ध राजस्व चुहावटको उजुरी परेपछि सम्भावित कानुनी कारबाहीबाट जोगिन कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठले तत्कालीन महानिर्देशक अधिकारीलाई ७० लाख रुपैयाँ घुस दिएका थिए।

अनुसन्धानका क्रममा उक्त रकम विकास चापागाईं, देवेन्द्र केसी र रवीन्द्र लामिछानेलगायतको संलग्नतामा विभिन्न बैंक खातामार्फत जम्मा गरिएको पाइएको अख्तियारको दाबी छ। त्यसपछि रकम प्रयोग गरी भक्तपुरस्थित दिव्यश्वरी आयोजनाभित्र ५ आना जग्गा खरिद गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

त्यसैगरी, अवैध रूपमा प्राप्त रकमको केही हिस्सा देवेन्द्र केसी सञ्चालक रहेको ‘द कुटी रिसोर्ट’को बैंक कर्जा भुक्तानीमा समेत प्रयोग गरिएको अख्तियारको आरोप छ।

मुद्दाको अर्को सुनुवाइको मिति भने हालसम्म तय गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्