सुधन गुरुङसम्बन्धी छानबिन प्रतिवेदन मन्त्रिपरिषद्ले ग्रहण गर्यो
जेष्ठ, २६ काठमाडौं। मन्त्रिपरिषद्को आजको बैठकले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिनसम्बन्धी प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै छानबिन समितिले बुझाएको प्रतिवेदन फाइल ग्रहण गर्ने निर्णय भएको जानकारी दिए।
“छानबिन प्रतिवेदन फाइल ग्रहण गर्ने निर्णय भएको छ, अध्ययन होला,” मन्त्री पोखरेलले भने।
गुरुङलाई पुनः गृहमन्त्री नियुक्त गर्ने विषयमा भइरहेको चर्चाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा पोखरेलले हालसम्म त्यस विषयमा मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको बताएका छन्।
सम्पत्ति तथा सेयर लगानीसम्बन्धी विषयमा विवादमा परेपछि गुरुङले गृहमन्त्री नियुक्त भएको २७ दिनमै पदबाट राजीनामा दिएका थिए। त्यसपछि उनीमाथि उठेका आरोपको छानबिन गर्न सरकारले विशेष समिति गठन गरेको थियो।
समितिले आफ्नो अध्ययन तथा अनुसन्धान सम्पन्न गरी प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन ग्रहण गरेसँगै अब त्यसको अध्ययन र आवश्यक निर्णय प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्