सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त, आजै शपथ ग्रहण
जेष्ठ, २६ काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएको जनाएको छ। उनको पद तथा गोपनीयताको शपथ आज दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको छ।
व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद गरेको विषयमा प्रश्न उठेपछि उनीमाथि राजनीतिक तथा सार्वजनिक दबाब बढेको थियो।
रकमको स्रोतबारे उठेका प्रश्नको जवाफ दिँदै गुरुङले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको दाबी गरेका थिए। बढ्दो आलोचनाका बीच उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी केवल २६ दिन गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।
यस विषयमा छानबिन गर्न मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए।
समितिलाई गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका विषयहरूको सत्यतथ्य अध्ययन तथा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको थियो। समय अपुग भएपछि समितिको कार्यावधि थप पाँच दिन बढाइएको थियो।
छानबिनपछि समितिले गुरुङमाथि लगाइएका आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै उनलाई सफाइ दिएको थियो। समितिले उनका सेयर तथा सम्पत्तिसम्बन्धी विवरण अध्ययन गर्दा कुनै अवैध सम्पत्ति वा अनियमितताको प्रमाण फेला नपरेको जनाएको छ।
समितिले बुझाएको ४५ पृष्ठ लामो प्रतिवेदनमा गुरुङका चल तथा अचल सम्पत्तिलाई वैध ठहर गरिएको छ। साथै, सम्पत्ति विवरणमा देखिएका त्रुटिहरूलाई व्यक्तिगत कमजोरीभन्दा पनि राज्यको अभिलेख तथा व्यवस्थापन प्रणालीको कमजोरीका रूपमा व्याख्या गरिएको उल्लेख छ।
समितिको प्रतिवेदन सार्वजनिक भएपछि गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएको हो।




प्रतिक्रिया दिनुहोस्