रास्वपाको बागमती प्रदेश अधिवेशन आजदेखि, नेतृत्व चयनमा प्रतिस्पर्धा हुने संकेत
जेष्ठ, २५ काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको पहिलो प्रदेश अधिवेशन मंगलबार मकवानपुरको हेटौँडामा सुरु हुँदैछ।
प्रदेश सभापति अच्युतम लामिछानेका अनुसार अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ।
अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम तय भएको छ।
प्रदेश नेतृत्व चयनको विषयमा भने सर्वसम्मत हुने सम्भावना कम देखिएको छ। वर्तमान सभापति अच्युतम लामिछानेले पुनः नेतृत्वका लागि दाबी प्रस्तुत गर्ने संकेत दिएका छन्। उनले नेतृत्व चयन प्रतिस्पर्धात्मक हुने सम्भावना रहेको बताएका छन्।
पार्टी स्रोतका अनुसार वर्तमान प्रदेश प्रवक्ता उत्सव अर्यालले पनि प्रदेश नेतृत्वमा रुचि देखाएका छन्। साथै, स्वास्थ्य विभाग प्रमुख डा. रमेश ढकाल पनि नेतृत्वका आकांक्षीका रूपमा चर्चामा छन्। उनलाई प्रदेश पदाधिकारीमा समेट्ने विषयमा आन्तरिक छलफल भइरहेको बताइएको छ।
त्यस्तै, महामन्त्री पदका लागि दिनेश भट्टले समेत आकांक्षा व्यक्त गरेका छन्।
रास्वपाको पहिलो बागमती प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी संगठनात्मक दिशा तय गर्ने अपेक्षा गरिएको छ।





प्रतिक्रिया दिनुहोस्