मनी लाउन्डरिङ मुद्दामा भट्ट र अग्रवाललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

जेष्ठ, २५ काठमाडौ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका दिपक भट्ट र शुलभ अग्रवालको हिरासत अवधि पुनः थप गरिएको छ।

विशेष अदालतले सोमबार दुवै प्रतिवादीलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।

अदालतका अनुसार दिपक भट्टको हकमा यो आठौं पटक र शुलभ अग्रवालको हकमा नवौं पटक म्याद थप गरिएको हो। अनुसन्धान अझै जारी रहेकाले थप समय आवश्यक परेको भन्दै सम्बन्धित निकायको मागबमोजिम म्याद थप गरिएको बताइएको छ।

मुद्दासम्बन्धी प्रमाण संकलन, वित्तीय कारोबारको विश्लेषण तथा अन्य अनुसन्धानात्मक कार्य जारी रहेकाले प्रतिवादीहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको अधिकारीहरूले बताएका छन्।

अनुसन्धानको निष्कर्ष र प्राप्त प्रमाणका आधारमा आगामी कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्