रास्वपा सदस्यता सवा पाँच लाख नाघ्यो, महाधिवेशन नजिकिँदै
जेष्ठ, २४ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता संख्या ५ लाखभन्दा बढी पुगेको छ। पार्टीको केन्द्रीय संगठन विभागले शनिबारसम्म अद्यावधिक गरेको विवरणअनुसार कुल सदस्य संख्या ५ लाख १६ हजार २५६ पुगेको हो। आइतबार र सोमबारको तथ्यांक अझै रुजु हुन बाँकी छ।
संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार पार्टीमा आबद्ध हुनेको संख्या दैनिक रूपमा बढिरहेको छ। उनले भने, “रास्वपामा सदस्यता लिन चाहनेको संख्या निरन्तर बढिरहेको छ, हालसम्म सवा पाँच लाख नाघिसकेको छ।”
रास्वपाले अनलाइन माध्यमबाट सदस्यता लिन सकिने व्यवस्था गरेको छ। पार्टीको मोबाइल एपमार्फत विवरण भरेर सदस्यता लिन सकिने सुविधा पनि उपलब्ध छ।
पार्टीले वडा र पालिका तहका अधिवेशन सम्पन्न गरिसकेको छ भने अहिले जिल्लास्तरीय अधिवेशनहरू जारी छन्। कार्यतालिका अनुसार जेठ २३ र २४ गते जिल्ला अधिवेशन तोकिए पनि तराई–मधेसका केही जिल्लामा अझै अधिवेशन भइरहेको छ भने कतिपय जिल्लामा भोलिसम्मका लागि तय गरिएको छ।
हालसम्म ५६ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने १२ जिल्लामा प्रक्रिया जारी छ। सिन्धुपाल्चोकमा जिल्ला अधिवेशन स्थगित गरिएको छ।
पार्टीका केही जिल्लामा यसपटक अधिवेशन नहुने पनि बताइएको छ।
रास्वपाको केन्द्रीय महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने तय भएको छ। महाधिवेशन नजिकिँदै गर्दा सदस्यता वृद्धिको गति तीव्र भएको देखिएको छ।
यसैबीच, दूरसञ्चार सेवा प्रदायक Ncell को नाम पनि पछिल्लो सदस्यता वितरण र सञ्चार पहुँचका सन्दर्भमा समाचारमा उल्लेख भएको छ।





प्रतिक्रिया दिनुहोस्