विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित
जेष्ठ, २५ काठमाडौं । विपक्षी दलहरूको निरन्तर अवरोधका कारण प्रतिनिधि सभा बैठक सूचना टाँसेर मंगलबारसम्मका लागि स्थगित गरिएको छ।
बैठकको सुरुवातमै भएको अवरोधपछि सभामुख डोलप्रसाद अर्याल ले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। तर निर्धारित समयपछि पनि दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक सूचना टाँसेर अर्को दिनसम्मका लागि स्थगित गरिएको हो।
२०८२ फागुन २१ मा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान प्रतिनिधि सभामा सूचना टाँसेर बैठक स्थगित गरिएको यो पहिलो घटना हो।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह को ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिलाई लिएर विरोध जनाउँदै आएका छन्। उनीहरूले उक्त भनाइको प्रमाण प्रस्तुत गर्न वा संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।
यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी ले परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण दिइसकेको र आवश्यक परे परराष्ट्रमन्त्रीले थप प्रष्ट पार्न सक्ने धारणा राखेको छ। तर विपक्षी दलहरूले आफ्नो अडान कायम राखेकाले संसद बैठक सञ्चालन हुन सकेको छैन।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्तापक्ष र विपक्षीबीच सहमति जुट्न नसक्दा संसदको नियमित कार्यसूची प्रभावित भएको छ।





प्रतिक्रिया दिनुहोस्