करका दर हेरफेर आरोपबारे संसदीय छानबिन समिति गठन गर्न राप्रपाको माग
जेष्ठ, २५ काठमाडौं । ज्ञानेन्द्र शाही ले अर्थमन्त्री स्वर्णिम वाग्ले माथि करका दर हेरफेर गरेको आरोप लगाउँदै त्यसबारे संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता शाहीले सरकारले आफैं गठन गर्ने छानबिन समितिको निष्पक्षता र औचित्यमाथि प्रश्न उठाए। उनका अनुसार मन्त्रीमाथि लागेको आरोपको अनुसन्धान सरकारको मातहतमा रहेको समितिबाट नभई संसदअन्तर्गतको छानबिन समितिबाट हुनुपर्छ।
उनले विगतमा पनि मन्त्रीहरूले गरेका गल्तीको छानबिन गर्न सरकारले आफैं समिति बनाएर आफूलाई निर्दोष साबित गर्ने प्रवृत्ति देखिएको आरोप लगाए। यस्ता अभ्यासले जनतामा निराशा बढाएको उनको भनाइ थियो।
शाहीले सरकार संसदप्रति जवाफदेही हुनुपर्ने भन्दै अर्थमन्त्रीमाथि उठेका प्रश्नहरूको पारदर्शी र विश्वसनीय ढंगले छानबिन गर्न संसदीय समिति आवश्यक रहेको बताए।
साथै, उनले सरकार संसदप्रति उत्तरदायी छ कि छैन भन्ने विषयमा समेत प्रश्न उठाउँदै लोकतान्त्रिक अभ्यासअनुसार संसदलाई प्रभावकारी भूमिका दिनुपर्ने धारणा व्यक्त गरे।





प्रतिक्रिया दिनुहोस्