प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने विपक्षीको अडान यथावत
जेष्ठ, २५ काठमाडौं । प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिबारे स्वयं उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने विपक्षी दलहरूको अडान कायम रहेको बताएका छन्।
सोमबार, ६ दिनपछि बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पुनले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याइनुका साथै संसदको रेकर्डबाट हटाइनुपर्ने माग पनि यथावत रहेको बताए। उनका अनुसार नेकपासहित सबै विपक्षी दलहरू यही विषयमा एकमत छन्।
पुनले संसद नियमित रूपमा सञ्चालन हुनुपर्नेमा विपक्षी दल प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसका लागि सत्तापक्षले आवश्यक वातावरण सिर्जना गर्नुपर्ने बताए। उनले प्रधानमन्त्रीले आफूले भन्न खोजेको कुरा सदनमै स्पष्ट पार्नुपर्ने धारणा दोहोर्याए।
उनका अनुसार सत्तापक्ष र विपक्षीबीच यस विषयमा छलफल सुरु भएको छ। विपक्षीले उठाएका माग सम्बोधन गर्न सत्तारूढ पक्षबाट विभिन्न सकारात्मक विकल्पहरू प्रस्तुत भए पनि हालसम्म कुनै निष्कर्षमा पुगिएको छैन।
सांसद पुनले विषय समाधानका लागि सभामुखसमक्ष बैठक स्थगित गरी थप छलफलको व्यवस्था गर्न आग्रह गरेका थिए।
यसैबीच, विपक्षी दलहरूको विरोध जारी रहेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।





प्रतिक्रिया दिनुहोस्