संसदको गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक जारी

जेष्ठ, २४ काठमाडौं । संसदमा देखिएको अवरोध अन्त्य गर्ने उद्देश्यले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को आह्वानमा सोमबार सिंहदरबारमा सर्वदलीय बैठक जारी छ।

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटी का अनुसार बैठकमा संसदको गतिरोध अन्त्य गर्ने उपायबारे छलफल भइरहेको छ। साथै समसामयिक राजनीतिक विषयहरूमा पनि दलहरूबीच संवाद भएको छ।

बैठकमा सभापति लामिछानेले हालै सम्पन्न आफ्नो भारत भ्रमणबारे जानकारी गराएको बुर्लाकोटीले बताए। सहभागी दलका नेताहरूले सर्वदलीय बैठकमार्फत संवादको प्रक्रिया सुरु भएकोमा स्वागत गर्दै राजनीतिक सहमतिका सम्भावनाबारे विचार आदानप्रदान गरेका छन्।

प्रधानमन्त्री बालेन शाह ले सीमासम्बन्धी दिएको अभिव्यक्तिपछि प्रतिपक्षी दलहरूले संसद अवरुद्ध गर्दै आएका छन्। यही कारण सोमबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक पनि निर्धारित समयमा सञ्चालन हुन सकेन।

बैठकमा नेपाली कांग्रेस का संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सांसद शाहजान खातुन, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक ऐन महर, नेपाल कम्युनिष्ट पार्टी का सहसंयोजक माधवकुमार नेपाल तथा नेता वर्षमान पुन सहभागी छन्।

त्यसैगरी रास्वपाबाट सभापति लामिछाने, महामन्त्री बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी का अध्यक्ष राजेन्द्र लिङ्देन पनि बैठकमा सहभागी छन्।

बैठकमा सोबिता गौतम को समेत सहभागिता रहेको छ। सर्वदलीय बैठकबाट संसदको अवरोध हटाउने विषयमा सहमति जुट्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्