एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक मंगलबार बस्ने

जेष्ठ, २४ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ले पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठक बोलाएका छन्।

एमाले सचिव तथा कार्यदल सदस्य छविलाल विश्वकर्मा का अनुसार बैठक मंगलबार दिउँसो १ बजे एमाले केन्द्रीय कार्यालय मा बस्नेछ।

गत जेठ १० गते बसेको पार्टी सचिवालयको आठौँ बैठकले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनसम्बन्धी कार्ययोजना तयार गर्न उपाध्यक्ष बादलको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो।

एक महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको कार्यदल गठन भएको करिब १५ दिनपछि पहिलो पटक बैठक बस्न लागेको हो। सचिव विश्वकर्माका अनुसार प्रारम्भिक बैठकमा कार्यदलको कार्यप्रणाली, कार्यक्षेत्र र आगामी कार्ययोजनाबारे छलफल हुनेछ। आवश्यक परे कार्यदलले आफ्नो कार्यविधि पनि तय गर्नेछ।

कार्यदललाई पार्टीको निर्वाचन समीक्षा तथा संगठन पुनर्गठनसम्बन्धी सुझावसहितको प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ।

कार्यदलमा उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल, उपमहासचिव लेखराज भट्ट तथा सचिवहरू पद्मा अर्याल, भानुभक्त ढकाल र अन्य पदाधिकारी सदस्यका रूपमा रहेका छन्। साथै पार्टीका सातै प्रदेश अध्यक्षहरू पनि कार्यदलमा सदस्य छन्।

कार्यदलको प्रतिवेदनलाई एमालेको आगामी संगठनात्मक सुधार र पुनर्गठन अभियानको आधार दस्तावेजका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्