समयमै सुरु हुन नसक्दा प्रतिनिधिसभा बैठकप्रति सांसदहरूको असन्तुष्टि
जेष्ठ, २४ काठमाडौं । प्रतिनिधिसभा को बैठक प्रायः दिउँसो १ बजे बस्ने अभ्यास रहे पनि पछिल्ला दिनहरूमा निर्धारित समयमै बैठक सुरु हुन नसक्ने क्रम दोहोरिएको छ।
प्रतिनिधिसभा नियमावलीको नियम ६ अनुसार कार्यबोझलाई ध्यानमा राखी सभामुखले तोकेको दिन र समयमा बैठक बस्न सक्ने व्यवस्था छ। उपनियम २ मा सामान्यतया दिउँसो १ बजे बैठक प्रारम्भ हुने उल्लेख भए पनि सभामुखले आवश्यकताअनुसार फरक समय निर्धारण गर्न सक्ने व्यवस्था छ।
सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि निर्धारित समयमा सुरु हुन सकेन। यसअघि जेठ १९ गते दिउँसो १ बजेका लागि तय गरिएको बैठक दुई घण्टा ढिलो गरी अपराह्न ३ बजे मात्र सुरु भएको थियो।
नियमावलीअनुसार निर्धारित समयको दुई घण्टासम्म पनि बैठक प्रारम्भ हुन नसकेमा सभामुखले बैठक स्थगित गरी अर्को बैठकको सूचना जारी गर्नुपर्ने व्यवस्था छ। जेठ १९ गतेको बैठक दुई घण्टाको सीमाभित्रै सुरु भएकाले स्वतः स्थगन हुने अवस्था टरेको थियो।
बैठक समयमै सञ्चालन हुन नसकेको विषयमा सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्की ले जेठ १९ गते सामाजिक सञ्जालमार्फत संसद् बैठकका लागि लामो समय प्रतीक्षा गर्नुपरेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए।
उनले सांसद हुनुअघि मेडिकल रिप्रेजेन्टेटिभ (एमआर) का रूपमा काम गर्दा चिकित्सकलाई भेट्न घण्टौँ कुर्नुपरेको अनुभव स्मरण गर्दै सांसद बनेपछि पनि संसद् बैठक सुरु हुने समय पर्खिनुपरेको उल्लेख गरेका थिए। उनले दिउँसो १२:४५ बजे संसद् भवन पुगे पनि २:४५ बजेसम्म बैठक सुरु हुने-नहुने टुंगो नभएको बताएका थिए। उनको उक्त टिप्पणी सार्वजनिक भएको करिब १५ मिनेटपछि बैठक सुरु भएको थियो।
आज पनि बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि संसद् सञ्चालनको प्रभावकारिता र समय व्यवस्थापनबारे पुनः प्रश्न उठेको छ।





प्रतिक्रिया दिनुहोस्