रास्वपाले ५६ जिल्लामा अधिवेशन सम्पन्न, अधिकांशमा निर्वाचनमार्फत नेतृत्व चयन

जेष्ठ, २४ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका ५६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको जनाएको छ।

केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार अधिवेशन सम्पन्न भएका जिल्लामध्ये करिब ९० प्रतिशतमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ।

उनले १२ जिल्लामा अधिवेशन प्रक्रिया अझै जारी रहेको जानकारी दिए। तीमध्ये केही जिल्लामा मतदान सम्पन्न भई मतगणना भइरहेको छ भने मधेस प्रदेशका अधिकांश जिल्लामा अधिवेशन हुन बाँकी छ।

रास्वपाका अनुसार महोत्तरी, रौतहट, सिराहा, पर्सा र सर्लाही जिल्लामा अधिवेशन निर्वाचनको चरणमा पुगेको छ। यस्तै सप्तरी र बारा जिल्लाको अधिवेशन मंगलबार तथा धनुषा जिल्लाको अधिवेशन बुधबारका लागि तय गरिएको छ।

केन्द्रीय संगठन विभागका अनुसार सिन्धुपाल्चोक जिल्ला अधिवेशन नेतृत्व चयनको चरणमा पुगेर अवरुद्ध भएको छ। अधिवेशन सम्पन्न गराउन केन्द्रीय निर्वाचन आयोगले सांसद मधुकुमार चौलागाईंको नेतृत्वमा निर्वाचन समिति गठन गरी जिल्लामा पठाए पनि प्रक्रिया टुंगिन सकेको छैन।

यसैबीच, अधिवेशन सम्पन्न भएका जिल्लामध्ये अर्घाखाँची र बर्दिया मा महिला नेतृत्व निर्वाचित भएको रास्वपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्