सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी, कांग्रेस संसदीय दलको बैठक जारी
जेष्ठ २४, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री हेरफेरको विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ। दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको हो।
बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।
यसअघि मुख्यमन्त्री शाहविरुद्ध कांग्रेसकै केही प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। अविश्वास प्रस्ताव असफल बनाएर उनले पद जोगाए पनि पार्टीभित्रको विवाद भने पूर्ण रूपमा समाधान हुन सकेको छैन।
पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन गर्न मुख्यमन्त्री शाहले मन्त्री हेरफेरको तयारी गरेको बताइएको छ। स्रोतका अनुसार यसअघि आफूविरुद्ध उभिएको समूहका केही सांसदलाई समेत सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको छ।
बैठकबाट वर्तमान मन्त्रीहरूलाई फिर्ता बोलाउने र नयाँ मन्त्रीका लागि नाम सिफारिस गर्ने निर्णय हुन सक्ने बताइएको छ।





प्रतिक्रिया दिनुहोस्