दुई महिनापछि गृहमन्त्रीमा गुरूङको पुनरागमन संकेत?

जेष्ठ २४ काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएको दुई महिनापछि सांसद सुधन गुरूङले आफू पुनः गृहमन्त्री बनेमा सुरुआती दुई महिनासम्म बधाई दिन र तस्बिर खिच्न नआउन आग्रह गरेपछि उनको सम्भावित पुनरागमनबारे राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गोरखा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै गुरूङले आफू निर्दोष सावित हुनेमा विश्वस्त रहेको भन्दै छानबिनबाट सफाइ पाएर सरकारको निर्णय भए पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न सक्ने संकेत गरेका हुन्।

सम्पत्ति र सेयर लगानीको स्रोतबारे प्रश्न उठेपछि गुरूङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसयता गृह मन्त्रालय प्रधानमन्त्री बालेन शाहकै मातहतमा रहेको छ भने नयाँ गृहमन्त्री नियुक्त गर्ने विषयमा सरकार वा सत्तारूढ दलभित्र औपचारिक छलफल नभएको बताइएको छ।

गुरूङको सम्पत्ति स्रोत छानबिन गर्न गठित उच्चस्तरीय समितिले हालै सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। समितिनिकट स्रोतका अनुसार १० वर्षयताको आम्दानी, खर्च तथा सम्पत्ति विवरण अध्ययन गर्दा उनको नाममा रहेको सम्पत्तिमा कुनै ठूलो अनियमितता नदेखिएको निष्कर्ष निकालिएको छ।

यद्यपि, गुरूङसँग रहेको झन्डै ८९ तोला सुन तथा निजी व्यक्तिबाट लिइएको ऋणसम्बन्धी विषयमा थप अनुसन्धान आवश्यक रहेको समितिको सुझाव रहेको बताइएको छ। प्रतिवेदनमा उनको सम्पत्ति मुख्यतः विभिन्न कम्पनी र सेयर लगानीमार्फत वृद्धि भएको उल्लेख गरिएको छ।

समितिको प्रतिवेदन सार्वजनिक नभइसके पनि गुरूङको पछिल्लो अभिव्यक्तिले उनी पुनः गृहमन्त्री बन्न सक्ने सम्भावनाबारे चर्चा थप चुलिएको छ। सरकारको आगामी निर्णय र छानबिन प्रतिवेदनको औपचारिक निष्कर्षले यस विषयलाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्