पुराना दलसँग अब लडाइँ छैन, गरिबी र भ्रष्टाचारविरुद्ध संघर्ष जारी रहने : प्रकाशचन्द्र परियार
जेष्ठ २४ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियार ले पुराना राजनीतिक दलहरूसँग आफ्नो पार्टीको अब कुनै व्यक्तिगत वा राजनीतिक लडाइँ नरहेको बताएका छन्। उनले रास्वपाको मुख्य संघर्ष गरिबी, असमानता, भ्रष्टाचार, विभेद र बेरोजगारीविरुद्ध केन्द्रित रहेको बताएका छन्।
आइतबार धनकुटामा आयोजित रास्वपा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै परियारले जनताबाट पटक–पटक अस्वीकृत भइसकेका पुराना दलहरू अझै पनि पुरानै सोच, अहंकार र अस्वस्थ राजनीतिक प्रतिस्पर्धामा अल्झिएको आरोप लगाए।
“जनताबाट पटक–पटक दण्डित भइसकेका पुराना दलहरूसँग अब हाम्रो कुनै व्यक्तिगत वा राजनीतिक लडाइँ छैन,” उनले भने, “उनीहरूलाई गाली गरेर वा प्रतिस्पर्धा गरेर समय खेर फाल्ने छुट हामीलाई छैन। जनताले उनीहरूको प्रवृत्तिको फैसला गरिसकेका छन्।”
परियारले व्यवस्था परिवर्तनका नाममा नागरिकको जीवनस्तरमा अपेक्षित सुधार हुन नसकेको उल्लेख गर्दै बिचौलिया प्रवृत्तिविरुद्ध पनि रास्वपाले संघर्ष गरिरहेको बताए। “हामी गाली गरेर होइन, काम गरेर देश बदल्न आएका हौँ,” उनले भने, “आश्वासनको खेती गर्न होइन, जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउन आएका हौँ।”
उनले किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य नपाउने, युवाहरू रोजगारीका लागि विदेशिन बाध्य हुने, सामान्य उपचार नपाएर नागरिकले ज्यान गुमाउनुपर्ने तथा राज्य स्रोतसाधनमा भ्रष्टाचार हुने अवस्थाको अन्त्य नभएसम्म आफ्नो पार्टीको संघर्ष जारी रहने बताए।
आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै परियारले धनकुटालाई ‘घण्टीमय’ बनाउने अभियानमा जुट्न कार्यकर्तालाई आह्वान गरे। उनले धनकुटाबाट नयाँ राजनीतिक युगको सुरुवात गर्ने जिम्मेवारी रास्वपाका नेता–कार्यकर्ताको काँधमा रहेको दाबी गरे।





प्रतिक्रिया दिनुहोस्