पूर्व गृहमन्त्री सुधन गुरूङको टिप्पणी: “पहिलो दुई महिना फोटो नखिच्नू”

जेष्ठ, २४ काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्व गृहमन्त्री सुधन गुरूङले आफू पुनः गृहमन्त्री बनेमा मन्त्रालयमा सुरुवाती दुई महिनासम्म फोटो खिच्न वा बधाई दिन नआउन आग्रह गरेका छन्।

आइतबार रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै उनले आफू छानबिन प्रक्रियाबाट निर्दोष साबित हुनेमा विश्वस्त रहेको बताए।

“यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला,” उनले भने।

गुरूङले सार्वजनिक पदमा रहँदा उठ्ने प्रश्नहरूको सामना गर्न आफू पूर्ण रूपमा तयार रहेको उल्लेख गर्दै छानबिन समितिमा दिएको बयानबारे पनि बोले। उनले सो क्रममा केही प्रश्नहरू कडा भए पनि आफूले स्पष्ट जवाफ दिएको बताए।

उनका अनुसार सम्पत्ति स्रोतबारे सोधिएको प्रश्नमा उनले प्रतिप्रश्न गर्दै समितिलाई पनि सम्पत्ति छानबिन गर्न सुझाव दिएको बताए।

त्यस्तै उनले पार्टी संगठन विस्तार र नेतृत्व शैलीबारे पनि धारणा राख्दै जिल्ला सभापति स्थानीय रूपमा सक्रिय हुनुपर्नेमा जोड दिए।

“अब बन्ने सभापतिले जिल्लामै बसेर पार्टीका गतिविधि अगाडि बढाउनुपर्छ,” उनले भने। “राजधानीमा बसेर जिल्ला सभापति बन्ने हो भने चुनावका बेला मात्र जनतामाझ पुगिन्छ, जसले पार्टीलाई फाइदा गर्दैन।”

प्रतिक्रिया दिनुहोस्