स्वतः क्रियाशील सदस्यता अद्यावधिक हुँदैन : प्रकाश रसाइली

जेष्ठ, २४ काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली ले पार्टीले कुनै पनि व्यक्तिको क्रियाशील सदस्यता स्वतः अद्यावधिक नगर्ने स्पष्ट पारेका छन्।

केही शीर्ष नेताहरूको क्रियाशील सदस्यता पार्टीले स्वतः नवीकरण गरिदिने चर्चा चलिरहेका बेला रसाइलीले पार्टीभित्र सबैका लागि एउटै नियम लागू हुने बताएका हुन्। उनले कुनै व्यक्ति, नेता वा उमेर समूहका आधारमा छुट नदिइने र सबैले निर्धारित प्रक्रिया पूरा गर्नुपर्ने बताए।

‘पार्टीमा कोही ठूलो वा सानो हुँदैन। सबै सदस्यका लागि समान नियम लागू हुन्छ र अधिवेशन प्रक्रियामा सबै सहभागी हुनुपर्छ,’ उनले बताएका छन्।

नेपाली कांग्रेसले गत वैशाख १ गतेदेखि क्रियाशील सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिरहेको छ। यो प्रक्रिया जेठ २८ गते मध्यरातसम्म खुला रहने जनाइएको छ।

रसाइलीका अनुसार हालसम्म करिब पाँच लाख सदस्यले आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गरिसकेका छन्। प्रारम्भिक चरणमा अद्यावधिक गर्नेको संख्या कम भए पनि पछिल्लो समय प्रदेशगत अनुगमन र जिम्मेवारी व्यवस्थापन कडा बनाइएपछि सदस्यता अद्यावधिक गर्नेको संख्या बढेको छ।

कांग्रेसले अनलाइनमार्फत नयाँ क्रियाशील सदस्यता आवेदनसमेत खुला गरेको छ। आगामी असोजमा हुने १५औँ महाधिवेशनको तयारीस्वरूप सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिएको पार्टीले जनाएको छ।

पार्टीका अनुसार क्रियाशील सदस्यता अद्यावधिक कार्य सम्पन्न भएपछि मात्रै महाधिवेशनका अन्य प्रक्रिया अघि बढाइनेछन्। १४औँ महाधिवेशनका बेला कांग्रेसमा ८ लाख ८२ हजार ८१६ क्रियाशील सदस्य रहेका थिए भने गत पुससम्म करिब ६ लाख सदस्यले मात्रै सदस्यता नवीकरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्