रास्वपा नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित

जेष्ठ, २४  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा उनले आफ्ना प्रतिस्पर्धीहरूलाई ठूलो मतान्तरले पराजित गर्दै नेतृत्वको जिम्मेवारी पाएका हुन्।

कुल ३२५ मत खसेको निर्वाचनमा गजुरेलले २५७ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी शरण महतले ३७ मत र राजु लामिछानेले २८ मत प्राप्त गरेका थिए।

२०५७ सालमा जन्मिएका गजुरेलले २१ वर्षको उमेरमै रास्वपाको नुवाकोट जिल्ला तदर्थ समितिको नेतृत्व सम्हालेका थिए। पार्टी स्थापना भएको वर्ष २०७९ मा पनि उनले जिल्लाको नेतृत्व गरेका थिए।

निर्वाचनपछि प्रतिक्रिया दिँदै गजुरेलले रास्वपा नुवाकोटमा अझ सशक्त बन्दै गएको र आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर संगठन विस्तारलाई तीव्र बनाइने बताए।

“त्यतिबेला अनुभवको कमी थियो। अहिले रास्वपा बृहत् भइसकेको छ। संघीय संसदका दुवै सिट जितेका छौं। अब यो उपलब्धिलाई स्थानीय तहसम्म लैजान्छौं र पार्टीलाई अझ उचाइमा पुर्‍याउँछौं,” उनले बताए।

उनले निर्वाचनलाई प्राविधिक प्रक्रिया भएको उल्लेख गर्दै सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

गजुरेलका अनुसार नुवाकोटका ८८ वटै वडा र १२ वटै पालिकामा रास्वपाको संगठन विस्तार भइसकेको छ। “सबै वडा र पालिका तहमा अधिवेशन सम्पन्न गरी नयाँ समिति गठन गरेका छौं। अब हाम्रो मुख्य ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुनेछ,” उनले भने।

अधिवेशनबाट अन्य पदाधिकारीहरूमा कृष्णलाल श्रेष्ठ १७३ मतसहित उपसभापति, वसन्त धिताल १९४ मतसहित सचिवमा निर्वाचित भएका छन्।

त्यस्तै, जनजाति सदस्यतर्फ छोपेन तामाङ (१७२ मत), महिलातर्फ लक्ष्मी पाण्डे (२५७), जानुका सापकोटा (१८६) र राधिका रिमाल (१४०) निर्वाचित भए। खुला सदस्यतर्फ क्षेत्र नम्बर १ बाट विपना पाण्डे (१२८) र क्षेत्र नम्बर २ बाट सुवास भण्डारी (९७) विजयी भएका छन्।

रास्वपाले नुवाकोटमा संगठन विस्तार र स्थानीय तह निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्दै नयाँ नेतृत्व चयन गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्