प्रतिनिधि सभा नियमावली संशोधन गर्न गतिशील लोकतान्त्रिक पार्टीको माग

जेष्ठ, २२ काठमाडौं। गतिशील लोकतान्त्रिक पार्टीले प्रतिनिधि सभा सञ्चालनसम्बन्धी हालै पारित नियमावली संशोधन गर्न माग गरेको छ। पार्टीले नियमावलीलाई संवैधानिक, कानुनी तथा नैतिक सीमाको उल्लङ्घन गर्दै पारित गरिएको भन्दै आपत्ति जनाएको हो।

पार्टीका अध्यक्ष दिनेश प्रसाईंले विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानुनसँग बाझिने व्यवस्था नियमावलीमा राखिएको दाबी गरेका छन्। उनका अनुसार संविधानको सम्बन्धित धारा विपरीत र राष्ट्रिय सभाको नियमावलीसँग समेत असंगत प्रावधानहरू समावेश गरिएको छ।

विज्ञप्तिमा प्रतिनिधि सभा नियमावलीको नियम १४० (उप–नियम ११) र नियम २५९ (१) मा उल्लेखित व्यवस्थाप्रति पनि आपत्ति जनाइएको छ। सो प्रावधानले नियमावलीलाई विशेष कानुन सरह लागू हुने भनाइ दिँदा अन्य प्रचलित कानुनहरू निष्प्रभावी हुन सक्ने अवस्था सिर्जना भएको पार्टीको तर्क छ।

त्यस्तै, भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐन जस्ता विद्यमान कानुनसँग उक्त व्यवस्था बाझिने भन्दै पार्टीले संसदीय समितिहरूले आफ्नो अधिकार क्षेत्र नाघेर कार्यकारी प्रकृतिका निर्णय गर्न सक्ने जोखिम रहेको उल्लेख गरेको छ।

पार्टीले संविधानको धारा २७४ विपरीत नियमावली ल्याइएको दाबी गर्दै प्रतिनिधि सभालाई तत्काल संशोधन प्रक्रिया अघि बढाउन र कानुनी स्पष्टता कायम गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्