राप्रपा अध्यक्ष लिङ्देनको टिप्पणी : “ऐँजेरू हटेपछि पार्टी अझ बलियो हुन्छ”
जेष्ठ, २२ काठमाडौं। राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हालै बाहिरिएका नेताहरूलाई “ऐँजेरू” को संज्ञा दिँदै उनीहरूको बहिर्गमनपछि पार्टी अझ सुदृढ हुने दाबी गरेका छन्।
गोरखामा आयोजित राप्रपा गोरखा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले पार्टी स्थापना कालदेखि नै विभिन्न प्रकारका प्रवृत्तिहरू देखिएको उल्लेख गरे। उनले हालैको बहिर्गमनलाई त्यही श्रृंखलाको अन्तिम कडीका रूपमा चित्रण गर्दै पार्टीभित्र बाधक बनेका व्यक्तिहरू स्वयं अलग भएको बताए।
उनले भने, “खुट्टामा ऐँजेरू थियो, काटेर फालौं भने आफ्नै जीउको भाग जस्तो, नफालौं भने जुत्ता लगाउन गाह्रो हुने अवस्था थियो। अन्ततः उनीहरू आफैं छुट्टिएर गए।”
लिङ्देनले अप्रत्यक्ष रूपमा धवल शम्शेर राणालगायत नेताहरूलाई लक्षित गर्दै चुनावमा उम्मेदवार नबन्ने र मत माग्नसमेत नजाने व्यक्तिहरू पार्टीबाट बाहिरिँदा संगठनलाई कुनै असर नपर्ने बताए। उनले राप्रपाको राष्ट्रिय विस्तार रोक्न चाहने शक्तिहरू पार्टी छाडेर गए पनि संगठनको भविष्य प्रभावित नहुने जिकिर गरे।
यसअघि बिहीबार धवल शम्शेर राणासहित १८६ जना नेताहरूले राप्रपाबाट सामूहिक राजीनामा दिएका थिए। उनीहरू नयाँ राजनीतिक दल गठन गर्ने तयारीमा रहेको बताइएको छ।




प्रतिक्रिया दिनुहोस्