बालेन नेतृत्वको सरकार विफल र फासीवादी दिशामा उन्मुख भएको आरोप, क्रान्तिकारी कम्युनिस्ट पार्टीको विघटन माग
जेष्ठ, २२ काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार पूर्ण रूपमा असफल, राष्ट्रघाती र फासीवादी दिशामा उन्मुख भएको निष्कर्ष निकाल्दै तत्काल सरकार विघटनको माग गरेको छ।
पार्टीका महासचिव सीपी गजुरेल ‘गौरव’ द्वारा जारी विज्ञप्तिमा देशलाई कथित “सिक्किमीकरण” बाट जोगाउन सबै देशभक्त तथा वामपन्थी शक्तिहरू एकजुट भई स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्नेमा जोड दिइएको छ।
विज्ञप्तिमा सरकारले गरिब र सुकुम्बासीलाई विस्थापित गर्ने नीति अपनाएको आरोप लगाइएको छ। वास्तविक सुकुम्बासी पहिचान नगरी सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै बस्तीमा डोजर चलाइएको र नागरिकलाई होल्डिङ सेन्टरमा अलपत्र पारिएको दाबी गरिएको छ।
त्यसैगरी संसद् अधिवेशन रोक्ने, राष्ट्रपतिलाई अध्यादेशमा हस्ताक्षर गर्न बाध्य पार्ने, गौरीबहादुर कार्की आयोगका सिफारिसका आधारमा केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गर्ने तयारी तथा विद्यार्थी र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासलाई पार्टीले “फासीवादी अभ्यास” को रूपमा व्याख्या गरेको छ।
विज्ञप्तिमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले भारतसँग गरेको सुपुर्दगी तथा कानुनी सहायतासम्बन्धी सम्झौताले नेपालको स्वाधीनतामाथि आँच पुर्याएको आरोपसमेत लगाइएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई पार्टीले नवउदारवादी, जनविरोधी र दलालमुखी भन्दै आलोचना गरेको छ। बजेटले देशलाई थप ऋणको बोझ बोकाएको, रोजगारी सिर्जना नगरेको तथा कर नीतिले सर्वसाधारणलाई असर गरेको दाबी गरिएको छ।
प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई समेत पार्टीले विवादास्पद भन्दै राष्ट्रघाती संज्ञा दिएको छ। साथै केही कूटनीतिक टिप्पणी र राजनीतिक घटनाक्रमलाई आधार बनाएर सरकारलाई अपरिपक्व र अस्थिर भएको आरोप लगाइएको छ।
अन्त्यमा, क्रान्तिकारी कम्युनिस्ट पार्टीले वर्तमान सरकारबाट राष्ट्रिय स्वाधीनता र जनअधिकारको रक्षा सम्भव नभएको भन्दै नयाँ राजनीतिक विकल्प खोज्न राष्ट्रिय सम्मेलनमार्फत स्वाधीन संयुक्त सरकार गठन गर्न आह्वान गरेको छ।




प्रतिक्रिया दिनुहोस्