पूर्वगृहमन्त्री सुधन गुरूङसम्बन्धी छानबिन प्रतिवेदन प्रधानमन्त्री शाहलाई बुझाइयो
जेष्ठ, २२ काठमाडौं ।पूर्वगृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुधन गुरूङमाथि उठेका प्रश्नका सम्बन्धमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको छ।
उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा गठन गरिएको समितिले शुक्रबार ४५ पृष्ठको प्रतिवेदन बुझाएको हो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए।
सहन्यायाधिवक्ता नेउपानेका अनुसार प्रतिवेदनमा तथ्यगत विश्लेषण, निष्कर्ष तथा सरकारलाई दिइएका सुझावहरू समेटिएका छन्। समितिले प्रतिवेदनसँगै बयान, बयान कागज तथा अन्य सम्बन्धित कागजातहरू पनि छुट्टै रूपमा बुझाएको छ।
समितिले प्रारम्भिक रूपमा १५ दिनको समय पाएको भए पनि छानबिन तथा प्रतिवेदन लेखनका लागि थप समय आवश्यक भएपछि सरकारले ५ दिनको म्याद थप गरेको थियो।
गत वैशाख २३ गते बसेको मन्त्रिपरिषद् बैठकले सुधन गुरूङमाथि उठेका प्रश्नको सत्यतथ्य अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको थियो।
यसअघि वैशाख ९ गते गुरूङले आफूमाथि उठेका प्रश्नका कारण स्वार्थको द्वन्द्व नदेखियोस् भन्दै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका दीपक भट्टसँगको व्यावसायिक सम्बन्धको विषयलाई लिएर विवादमा आएका थिए।




प्रतिक्रिया दिनुहोस्