३० हजार मेगावाट लक्ष्यका लागि स्पष्ट गुरुयोजना आवश्यक : सांसद न्यौपाने

जेष्ठ, २२ काठमाडौं ।सांसद श्रीराम न्यौपानेले ऊर्जा क्षेत्रका लागि ल्याइएको बजेटले आशा जगाए पनि ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक रहेको बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा उनले उक्त लक्ष्य हासिल गर्न आवश्यक जनशक्ति, निर्माण सामग्री, निर्माण व्यवसायी, परामर्शदाता, मेसिनरी उपकरण, स्पेयर पार्ट्स तथा मर्मत–सम्भार सेवासम्बन्धी विस्तृत गुरुयोजना तयार गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार पाँच वर्षमा १५ हजार मेगावाट र १० वर्षमा ३० हजार मेगावाट उत्पादन गर्ने लक्ष्य केवल क्षमता विस्तारमा सीमित नभई प्रसारण लाइन, सबस्टेसन, ऊर्जा भण्डारण, विद्युत् खपत बढाउने उद्योग तथा ऊर्जा पूर्वाधार विकाससँग पनि जोडिनुपर्नेछ। साथै हरित हाइड्रोजनका पाइलट परियोजना र आवश्यक कानुनी सुधारका लागि स्पष्ट रोडम्याप आवश्यक रहेको उनले बताए।

सांसद न्यौपानेले ऊर्जा क्षेत्रमा हालसम्मकै ठूलो करिब ८७ अर्ब रुपैयाँ बजेट विनियोजन हुनु र एक वर्षभित्र ५,५३५ मेगावाट जडित विद्युत् क्षमता पुर्‍याउने लक्ष्य सकारात्मक भएको टिप्पणी गरे।

उनका अनुसार बजेटले नेपाललाई केवल विद्युत् उत्पादन गर्ने देशबाट ऊर्जा व्यापार, औद्योगिक विकास र डिजिटल अर्थतन्त्रसँग जोड्ने दिशामा अघि बढाउने प्रयास गरेको छ।

नेपाल विद्युत् प्राधिकरणलाई उत्पादन, प्रसारण, वितरण र व्यापारका लागि तीन कम्पनीमा पुनर्संरचना गर्ने प्रस्तावलाई उनले महत्त्वपूर्ण कदमका रूपमा उल्लेख गरे। यद्यपि, कार्यान्वयन प्रभावकारी नभए प्रतिस्पर्धा, पारदर्शिता र दक्षतामा असर पर्न सक्ने तथा निजी क्षेत्रको सहभागिता कमजोर हुन सक्ने चेतावनी दिए।

निर्माण सुरु नभएका आयोजनाको विद्युत् खरिद–विक्री सम्झौता (पीपीए) खारेज गर्ने तथा ‘टेक अर पे’ मोडेलमा नयाँ पीपीए गर्ने सरकारको नीतिलाई उनले सकारात्मक भने। १० मेगावाटसम्मका आयोजनाको तत्काल पीपीए गर्ने निर्णयले लगानीकर्ताको विश्वास बढाउने र वित्तीय व्यवस्थापन सहज बनाउने उनको भनाइ थियो।

न्यौपानेले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय विद्युत् व्यापारमा सहभागी गराउने र प्रसारण पूर्वाधार निर्माणमा अवसर दिने नीतिले नेपाललाई दक्षिण एसियाको ऊर्जा व्यापार केन्द्रका रूपमा विकास गर्ने आधार तयार गर्न सक्ने बताए। साथै, जलाशययुक्त तथा ठूला आयोजनालाई प्राथमिकता दिनुले दीर्घकालीन ऊर्जा सुरक्षामा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्