युगकवि सिद्धिचरण श्रेष्ठ प्रेरणाको स्रोत हुन् : राष्ट्रपति पौडेल
जेष्ठ, २२ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति राष्ट्रिय मौलिक पहिचान र गौरव भएको बताएका छन्।
शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले साहित्य सृजना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरूक र संवेदनशील बनाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे।
उनले साहित्यले समाज, जनजीवन, लोकतान्त्रिक मूल्य–मान्यता, रूपान्तरण, परिवर्तन, देशप्रेम र सामाजिक न्यायका लागि प्रेरित गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणमा योगदान दिने बताए।
राष्ट्रपति पौडेलले युगकवि सिद्धिचरण श्रेष्ठलाई नयाँ पुस्ताले केवल इतिहासका कविका रूपमा मात्र नभई चेतना, साहस, सृजनशीलता, राष्ट्रप्रेम र मानवीय मूल्यका प्रेरणा स्रोतका रूपमा बुझ्नुपर्ने बताए।
उनले कठिन सामाजिक तथा राजनीतिक परिस्थितिमा पनि श्रेष्ठले साहित्यका माध्यमबाट स्वतन्त्रता, न्याय, मानवता, राष्ट्रिय स्वाभिमान र जनचेतनाको सन्देश प्रवाह गरेको स्मरण गरे। साथै, कारावासका कठिन अनुभव र व्यक्तिगत पीडाबीच पनि साहित्यप्रतिको निष्ठा कायम राखेको उदाहरण उनले उल्लेख गरे।
कार्यक्रममा युगकवि सिद्धिचरण श्रेष्ठ पुरस्कारबाट डा. दुबसु क्षेत्री र डा. गार्गी शर्मालाई सम्मान गरिएको थियो।




प्रतिक्रिया दिनुहोस्